बुधबार, २७ कार्तिक २०७६
DainikNepal.com
बुधबार, २७ कार्तिक २०७६

प्रदेश २ मा आफ्नै ‘गुप्तचर’

दैनिक नेपाल २०७६ कार्तिक २१ गते ८:०१

जनकपुर, २१ कात्तिक । संघलेभन्दा अघि प्रहरी विधेयक ल्याएको प्रदेश २ सरकारले गुप्तचरसमेत नियुक्त गर्ने गरी छुट्टै अनुसन्धान ब्युरो गठन गर्न लागेको छ  ।

यसका लागि आवश्यक विधेयकसमेत तयार पारेको छ । हाल मुख्यमन्त्री कार्यालयको विधान समितिमा पुगेको विधेयक छिट्टै प्रदेशसभामा दर्ता गराउने सरकारको योजना छ ।

प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले तयार पारेको ‘प्रदेश अनुसन्धान ब्युरोको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ कार्यव्यवस्था समितिबाट पास भइसकेको छ ।

आन्तरिक मामिलामन्त्री ज्ञानेन्द्र यादवले विधेयक प्रदेशसभामा दर्ता गराउने प्रक्रिया अघि बढाइएको बताए ।

अनुसन्धान विज्ञ, अवकाश प्राप्त सुरक्षा अधिकारी र मन्त्रालयको कानुन शाखाको सुझाव–सल्लाहमा विधेयक तयार पारिएको उनको भनाइ छ । ‘प्रदेश सरकारसँग सूचना संकलन गर्ने आफ्नै निकाय छैन,’ उनले भने, ‘अनुसन्धान ब्युरोले प्रदेश सरकारलाई आवश्यक सूचना संकलन गरेर दिनेछ ।’

विधान समितिबाट सुझावसहित विधेयक मन्त्रालयमा फिर्ता आउने र थपघट गरेर दर्ताका लागि प्रदेशसभामा पठाइने मन्त्रालयका कानुन उपसचिव अवधकिशोर कुशवाहाले जानकारी दिए । ब्युरो स्थापना गर्न प्रदेश मन्त्रिपरिषद् बैठकले आन्तरिक मामिला मन्त्रालयलाई अनुमति दिएको थियो ।

संघीय सरकारमातहतको राष्ट्रिय अनुसन्धान विभागजस्तै प्रदेश सरकारले छुट्टै ब्युरो स्थापना गर्न लागेको हो । ब्युरोले पनि विभागकै कर्मचारीले जसरी काम गर्ने बताइएको छ ।

‘ब्युरोलाई राष्ट्रिय अनुसन्धान विभागझैं शक्तिशाली बनाइएको छ,’ मन्त्री यादवले भने, ‘ब्युरोको काम–कर्तव्य र दायित्व सबै विभागकै जस्तो हुनेछ ।’ कान्तिपुर दैनिकले खबर छापेकाे छ ।

प्रतिक्रिया
सम्बन्धित