५ कार्तिक २०८३, बिहिबार

लाखमा नक्कली पासपोर्ट

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ कात्तिक । विदेशमा नक्कली नेपाली पासपोर्ट (एमआरपी) बन्ने गरेको तथ्य फेला परेको छ। मलेसियामा नक्कली पासपोर्ट बनाएर नेपालीलाई बेच्ने गरेको खुलेको छ।

मलेसियामा तयार भएको ३२ पृष्ठको नेपाली एमआरपीबारे राहदानी विभागले छानबिन गरेको छ। ‘अध्यागमनमा पासपोर्ट मेसिनमा रिड गराउँदा बारकोड रिड भयो। तर, राहदानीको रङ र निसानछाप फरक भएपछि व्यक्ति समातिएका छन्’, अध्यागमन विभागले भनेको छ।

गिरोहले राहदानीको रङ कालो बनाएको छ भने राष्ट्रको छाप पञ्चायतकालीन प्रयोग गरेको छ। बुकका पृष्ठ उस्तै छन्। तर सिलाई नक्कली छ। रौतहटका उमेशराम चमार र जनकपुरका अरुणकुमार दास मलेसियाबाट काठमाडौं आउने क्रममा नक्कली पासपोर्टसहित पक्राउ परेका हुन्।

उनीहरूले बोकेको पासपोर्ट नक्कली आशंका गरिए पनि मेसिनले रिड गरेको थियो। विमानस्थल कार्यालयले अध्यगमन विभाग तथा राहादानी विभाग पठाई परीक्षण गराउँदा नक्कली ठहर भएको थियो। पक्राउ परेका दुवैले मलेसियामा चार हजार रिंगेट (करिब एक लाख रुपैयाँ) तिरेर किनेको बयान दिएका छन्।

‘दलालले पासपोर्ट किनेर फर्कंदा सहज हुने सुझाएपछि घरबाट रकम मगाएर पैसा खर्चेर घर फर्कन पासपोर्ट किनेको बयान उनीहरूले दिएका छन्’, राहदानी विभागका महानिर्देशक ईश्वरीराज पौडेलले भने।

‘हामीले राहदानी विभागमा पठाएका छौं। पक्राउ परेको व्यक्ति हिरासतमा छन्’, उनले भने, ‘राहदानी विभागबाट जानकारी आएपछि अन्य कारबाही अघि बढ्छ।

उनीहरूलाई एक साताको थुना अनुमति लिएर हिरासतमा राखिएको छ।’ एमआरपीमा वर्ष परिवर्तन गरी फोटो फरक गर्ने घटना हुन थालेपछि अध्यागमन अधिकारी चनाखो बन्दा पक्राउ पर्ने क्रम बढेको उनले बताए । अन्नपूर्ण पाेस्ट दैनिकले खबर छापेकाे छ ।