५ कार्तिक २०८३, बिहिबार

महरा पूर्वआईजीपी ठकुरीसँगै सदरखोरमा

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ कात्तिक । जिल्ला अदालत काठमाडौंले बलात्कार प्रयासको कसुरमा पूर्व सभामुख कृष्णबहादुर महरालाई सोमबार पुर्पक्षका लागि थुनामा पठाएको छ ।

जिल्ला न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासले आइतबारदेखि सुरु थुनछेक बहस सोमबार सकिएपछि महरालाई थुनामै राखेर मुद्दा अघि बढाउने आदेश दिएको हो ।

संसद् सचिवालयकी कर्मचारीलाई बलात्कार प्रयास गरेको र प्रतिकार गर्दा हातपात गरेको अभियोग लागेका महरालाई आदेशलगत्तै सदरखोर डिल्लीबजार (कारागार) लगिएको छ ।

पाण्डेको इजलासले घटना विवरण, कागजात, जाहेरी दरखास्त, मौकामा कागज गर्नेहरूको बयान र तत्काल प्राप्त प्रमाणका आधारमा महरा कसुरदार होइनन् भन्न नसकिने भएकाले उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको हो ।

स्रोतका अनुसार तत्काल प्राप्त प्रमाण हेर्दा उनलाई थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्नुपर्ने देखिएको समेत आदेशमा उल्लेख छ । प्रहरी हिरासतका क्रममा उनी पूरै अवधि थापाथलीस्थित नर्भिक अस्पतालको बेडमा बसेका थिए ।

उनलाई अस्पतालमा बस्न दिने या थुनामै राख्ने भन्ने निर्णय अब डिल्लीबजार कारागार प्रशासनले गर्नेछ । कारागार प्रशासनले उनलाई उपचार आवश्यक हो भन्ने यथोचित आधार देखिएमा मात्र अस्पताल बस्न अनुमति दिनेछ, नदेखिएमा कारागारमै बस्नुपर्नेछ ।

अदालतले पुर्पक्षका लागि थुनामा पठाए पनि महराको सांसद पद भने यथावत् रहनेछ । उनले सांसद पदबाट राजीनामा दिएका छैनन् ।

प्रतिनिधिसभा नियमावलीअनुसार उनले सांसद पदको पारिश्रमिक र अन्य सेवा सुविधा भने पाउने छैनन् । थुना अवधिभर उनले सांसदको हैसियतमा कुनै कार्य गर्न वा कुनै अधिकार वा उन्मुक्ति नपाउने नियमावलीमा उल्लेख छ ।

नियमावलीमा नैतिक पतन देखिने फौजदारी अभियोगमा अदालतको फैसलाबमोजिम कैद सजाय भुक्तान गरिरहेको सांसदको मात्र पद निलम्बन हुने व्यवस्था छ । यही व्यवस्थाका कारण महराको सांसद पद निलम्बन नहुने जानकारी संसद् सचिवालय स्रोतले दिएको छ । कान्तिपुर दैनिकले खबर छापेकाे छ ।