काठमाडौं, १९ कात्तिक । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा प्रदेश प्रमुख नियुक्ति सिफारिसलाई लिएर विवाद भएको छ। शेरबहादुर देउवा नेतृत्वको सरकारबाट नियुक्त सातै प्रदेश प्रमुखलाई पदमुक्त गरेपछि नयाँ नियुक्तिको सिफारिसलाई लिएर विवाद भएको हो।
नयाँ नियुक्तिका लागि दुई अध्यक्षले भागबन्डा गरेर आफूहरुलाई साक्षीमात्र राखेको भन्दै नेकपा सचिवालय सदस्य एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसहितका नेताले असन्तुष्टि जनाएका छन्। उनले प्रदेश प्रमुख तय गर्न सोमबार बसेको पार्टी सचिवालय बैठकमा असहमति (नोट अफ डिसेन्ट) लेखेका छन्।
प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालले चार र तीनको भागबन्डा गरेपछि रुष्ट नेता नेपालले ‘नोट अफ डिसेन्ट’ लेख्ने जनाएका थिए। त्यसपछि अरु नेताले सहमतिमा नाम टुंगो लगाउन प्रस्ताव गरे पनि अध्यक्षबीचको भागबन्डाअनुसार नै बैठकले निर्णय गरेपछि नेपालले ‘नोट अफ डिसेन्ट’ लेखेका हुन्।
नेपालले निर्वाचन हारेकालाई प्रदेश प्रमुख बनाउँदा गलत नजिर बस्ने भन्दै विधि र प्रक्रियालाई ध्यान दिनुपर्नेमा जोड दिएका थिए। ‘स्थानीय तहको निर्वाचन हारेका व्यक्तिलाई प्रदेश प्रमुख बनाउँदा त्यसले गलत नजिर बस्छ। बरु पार्टीभित्रका र बाहिरकालाई समेत मिलाएर प्रदेश प्रमुख बनाउँदा त्यसले राम्रो सन्देश दिन्छ’, नेपालको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘उहाँको कुरा सुनुवाइ नभएपछि नोट अफ डिसेन्ट राख्नुभएको छ।’
प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालले चार र तीन गरी प्रदेश प्रमुखको भागबन्डा गरेपछि माधव नपाल रुष्ट बनेका छन्।
नेता नेपालले विश्वकान्त मैनाली, अमृत बोहोरा, प्रदीप नेपाल, श्रीमाया थकाली, रघुजी पन्त र बेदुराम भुसालको नाम प्रस्ताव गरेको स्रोतको दाबी छ। उनको प्रस्तावमा ओली र दाहालले छलफल गर्नै नचाहेको एक नेताले जानकारी दिए।
बैठकमा चितवनका अमिक शेरचन, कास्कीका सोमनाथ अधिकारी प्यासी, बाँकेका तिलकबहादुर परियार, सिरहाका धर्मनाथ यादव, डडेल्धुराका गोविन्द कलौनी, झापाका विष्णु प्रसाईं र काठमाडौंकी शर्मिला त्रिपाठीलाई प्रदेश प्रमुख बनाउन दुई अध्यक्षका तर्फबाट नाम प्रस्ताव भएको थियो। तिनै नामलाई बैठकले अनुमोदन गरेको छ। यस्तो निर्णय असन्तुलित भएको धारणा नेता नेपालले राखेका थिए। नागरिक दैनिकले खबर छापेकाे छ ।















प्रतिक्रिया