५ कार्तिक २०८३, बिहिबार

उपनिर्वाचनमा दलको अलमल: ठूला दललाई उम्मेदवार छान्नै हम्मे, साना कुर्दै

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ कात्तिक । उपनिर्वाचनका लागि ठूला दललाई उम्मेदवार छान्नै सकस देखिएको छ ।

जिल्ला तह हुँदै केन्द्रमा सिफारिस भएर आएका उम्मेदवारका नाम धेरै भएपछि दलहरूलाई उम्मेदवारबारे निर्णय लिन सकस हुँदै आएको हो ।

१४ मंसिरमा प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहका गरी कुल ५२ पदका लागि उपनिर्वाचन हुँदै छ ।

सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)देखि विपक्षी कांग्रेस हुँदै अन्य साना दलले समेत उपनिर्वाचनका लागि अहिलेसम्म उम्मेदवारबारे निर्णय गर्न सकेका छैनन् ।

खासगरी ठूला दलभित्र उम्मेदवारका लागि आकांक्षी धेरै देखिँदा नाम टुंगो लगाउन सकस पर्दै आएको छ ।

यसैगरी, एउटा कुनै नाममा तत्कालै निर्णय गर्न समेत असन्तुष्ट पक्षको असहयोग रहने आँकलन गर्दै दलहरूले सकभर मिलाएर र फकाएरै एक जनालाई सर्वसम्मत उम्मेदवार बनाउने कोसिस गरिरहेका छन् ।

सत्तारूढ दल नेकपाले शनिबार नै उम्मेदवारबारे छलफल गर्न भन्दै सचिवालय बैठक बोलाएको थियो ।

तर, बैठकमा क्षेत्रीय निर्वाचन समन्वय समिति, जिल्ला कमिटी र प्रदेश कमिटीबाट सिफारिस भई आएका नामका विषयमा सामान्य छलफल मात्रै भएको र आइतबार थप छलफल गर्ने गरी सचिवालय बैठक बोलाइएको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

‘शनिबारको बैठकमा सिफारिस भई आएका नामका विषयमा सामान्य छलफल मात्रै भयो, थप विषयमा छलफल गर्ने गरी आइतबार पुनः सचिवालय बस्छ, बैठकले उम्मेदवारबारे निर्णय लिन्छ,’ प्रवक्ता श्रेष्ठले राजधानीसँग भने ।

नेकपाले उम्मेदवार सिफारिस गर्दा तल्लो तहलाई कम्तीमा तीन जनाको नाम पठाउन भनेको थियो भने कतिपय ठाउँबाट एक जनाको नाम मात्र सिफारिस भएको प्रवक्ता श्रेष्ठले जानकारी दिएका छन् ।

नेकपा केन्द्रमा कतिपय जिल्लाबाट भने दर्जन बढी आकांक्षीका नाम आएका छन् । राजधानी दैनिकले खबर छापेकाे छ ।