काठमाडौं, १५ कात्तिक । विभिन्न सरकारी कार्यालय तथा भौतिक संरचना निर्माणले पछिल्लो समय गति लिएको छ । कतिपय ती संरचना अति आवश्यक रहँदै आएका छन् भने कतिपय विलासीपनका समेत देखिएका छन् ।
सरकारले प्रधानमन्त्री निवास बालुवाटारमा स्वमिङ पुल, हेल्थ क्लब निर्माण गरिरहेको छ भने सिंहदरबारभित्र तीन तलाको भवनमा समेत लिफ्ट जडान गरेको छ ।
सहरी विकास मन्त्रालयको आयोजनामा स्विमिङ पुल, हेल्थ क्लबको निर्माण भइरहेको हो । सरकारले विभिन्न मन्त्रालयमा लिफ्ट जडान गरेको छ । तीन÷चार तलाका मन्त्रालयका भवनमा सरकारले लिफ्ट जडान गरेको हो ।
दैनिक कार्य सञ्चालनका लागि आवश्यक मानिएको संसद् भवन निर्माण, भूकम्पले भत्काएका भौतिक संरचनाको निर्माणले पनि गति पाएको छ ।
सरकारले सिंहरदबारभित्र तीन वर्षभित्र निर्माण सम्पन्न हुनेगरी प्रतिनिधि सभामा ९ सय र राष्ट्रिय सभामा ६ सय जना अट्ने गरी संसद् भवनको निर्माण कार्य गरिरहेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सिंहदरबारस्थित पुतली बगैंचामा बन्न लागेको संघीय संसद् भवनको १ असोजमा शिलान्यास गरेका थिए ।
सिंहदरबारभित्रै ५ अर्ब ३० करोड खर्चिएर भवन निर्माण गर्न लागिएको हो । अबको निर्वाचनबाट चुनिएर आउने सांसदले नयाँ आफ्नै भवनको प्रयोग गर्न पाउने भएका हुन् ।
हाल नयाँ बानेश्वरस्थित अन्तर्र्रािष्ट्रय सम्मेलन केन्द्रलाई भाडामा लिएर संसद् सञ्चालन हुँदै आएको छ । सरकारले वार्षिक १५ करोड रुपैयाँ भाडा बुझाउने गरेको छ ।
सरकारले प्रदेश प्रमुख र मुख्यमन्त्रीका लागि काठमाडौंमा आवास तथा सम्पर्क कार्यालयको निर्माण कार्यसमेत अघि बढाएको छ ।
ललितपुर भैंसेपाटीमा निर्माण भइरहेको आवास तथा सम्पर्क कार्यालयको प्रधानमन्त्री ओलीले १२ असोजमा शिलान्यास गरे । ८५ करोड रुपैयाँ लागतमा बनाउन लागिएको आवास तथा सम्पर्क कार्यालय दुई वर्षमा बनाइसक्ने गरी ठेक्का सम्झौता गरिएको छ ।
भवन निर्माणको ठेक्का केसी कन्स्ट्रक्सन तथा समानन्तर जोइन्ट भेन्चरले पाएको छ । सातवटा प्रदेश प्रमुख र सातवटा मुख्यमन्त्रीका लागि १४ भवन बन्नेछन् ।
अबको केही समयपछि ललितपुर भैंसेपाटीस्थित सैंबुमा नै १ अर्ब ४५ करोड रुपैयाँ लागतमा मन्त्री निवासको शिलान्यास गर्ने तयारीसमेत भइरहेको छ । राजधानी दैनिकले खबर छापेकाे छ ।















प्रतिक्रिया