नेपालगन्ज, १५ कात्तिक । बाँके कारागारका बन्दीले जेलर, चौकीदार र नाइके परिवर्तनको माग गर्दै बिहीबार राति अबेरसम्म पनि आन्दोलन जारी राखेका छन् ।
बिहीबार बिहान ७ बजेदेखि चौकीदार भरत फडेरा र नाइके मानबहादुर शाहीलाई कारागारभित्रै बन्दी बनाएका छन् । पुरुष बन्दीगृहको दोस्रो गेटमा ताला लगाएर फडेरा र शाहीलाई उनीहरुले थुनेका हुन् ।
कैदी र थुनुवाले चौकिदार नियुक्तिमा आर्थिक अनियमिता भएको, राज्यबाट पाउने सुविधा जेलरको निर्देशनमा चौकीदार र नाइकेले उपलब्ध नगराएको, बन्दीले विगतमा राशनबाट बचेको मासिक तीन सय रुपैयाँ पाउँदै आएकोमा सो रकम नपाएको, खाना वापत थप मासिक दुई सय रुपैयाँ तिर्नु परिरहेको र महंगोमा फोन गर्नु परेको आरोप लगाउँदै जेलर, चौकीदार र नाइके परिवर्तनको माग गरेका छन् ।
दिनभर मानव अधिकारकर्मी र पत्रकारलाई कारागार प्रवेशमा रोक लगाएको कारागार प्रशासनले अपरान्ह साढे ५ बजेतिर मात्र कार्यालयमा प्रवेश दिएको थियो ।
साँझ ६ बजेतिर आन्दोलनकारी बन्दीसँग भेट गराएको थियो । आन्दोलनकारी बन्दी विकास केसीले माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने बताएका थिए । उनले जेलरले चौकीदार नियुक्तिमा आर्थिक चलखेल भएको आरोप पनि लगाए । अन्नपूर्ण पाेस्ट दैनिकले खबर छापेकाे छ ।















प्रतिक्रिया