५ कार्तिक २०८३, बिहिबार

गुन्डागर्दीमा संलग्नहरू नै व्यवसायी

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ कात्तिक । तपाईं राजधानीमा घर बनाउँदै हुनुहुन्छ वा निर्माणजन्य अन्य कुनै काम गर्दै हुनुहुन्छ ? यदि त्यसो गरिरहनुभएको छ भने इँटा, बालुवा चिप्स, ढुंगाजस्ता निर्माण सामग्री ओसार्ने ट्रक तथा मिनी ट्रकमा तपाईंले ध्यान दिनुभएन भने ठगिन पनि सक्नुहुन्छ ।

ट्रक तथा मिनी ट्रकले ग्राहक ठग्नेगरी चोर उपाय अपनाइरहेकाले घर बनाउनेहरू सर्तक र चनाखो बन्नुपर्ने देखिएको छ । उनीहरूले विभिन्न प्रपञ्च अपनाएर संगठित रूपमा नै ग्राहकलाई करोडाैं रुपियाँ ठगिरहेका छन् ।

राजधानीमा ट्रक तथा मिनी ट्रकले सामान ओसार्दा ठगी गरेको उजुरीपछि शुक्रबार इँटा तथा बालुवासहितका निर्माण सामग्री बिक्री गर्दा ग्राहक ठगीको अभियोगमा प्रहरीले राजधानीका २३ वटा डिपो सञ्चालकलाई फक्राउ गरेको छ ।

महानगरीय अपराध महाशाखाको टोलीले शुक्रबार राजधानीका स्वयम्भू, महाराजगन्ज तथा बालाजु क्षेत्रबाट इँटा, बालुवा चिप्स, ढुंगाजस्ता निर्माण सामग्री बिक्री गर्दै आएका २३ विभिन्न डिपो सञ्चालकलाई कम परिमाणमा सामान बेचेर ग्राहक ठगी गरेको अभियोगमा पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा गुन्डागर्दीमा संलग्न सुकबहादुर तामाङ ‘बाघे’सहित २३ वटा डिपोका सञ्चालक रहेको महाशाखाले जनाएको छ । महाशखाले डिपो सञ्चालकहरूसहित ३५ वटा मिनी ट्रकसमेत नियन्त्रणमा लिएको बताएको छ ।

केही दिनअघि बालाजु, स्वयम्भू र महाराजगन्जका ग्राहकले बालुवासहितका निर्माण सामग्री खरिद गर्दा आफूहरू ठगिएको महसुस भएको भन्दै प्रहरीमा उजुरी दिएका थिए ।

उपभोक्ता संरक्षण मञ्चसहित उजुरी दिन गएका उनीहरूको उजुरीपछि प्रहरीले सो विषयमा निगरानी बढाउँदै आएको थियो । उजुरीपछि अपराध महाशाखाको टोलीले विभिन्न स्थानमा रहेका डिपोमा छापा मारेको हो ।

महाशाखा प्रमुख थापाले ठगी गर्ने डिपोलाई पाँच वर्षसम्मको जेल र बिगो रकम क्षतिपूर्ति दिनुपर्ने प्रावधान रहेको बताए । उनले आफू ठगिएको महसुस भए निर्धक्कसँग महाशाखामा उजुरी गर्न उपभोक्तालाई आग्रह गरे । प्रहरीमा उजुरी आए क्षतिपूर्तिसमेत दिलाउने उनले प्रतिबद्धता व्यक्त गरेका हुन् । राजधानी दैनिकले खबर छापेकाे छ ।