५ कार्तिक २०८३, बिहिबार

यी हुन् गुम्बाभित्र थुप्रै युवतीहरू… धर्मगुरु, अब सात वर्ष जेलमा बास

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

काठमाडौं, ३० असाेज । धार्मिक विधिबाट उपचारका नाममा गुम्बामा लगेर युवतीहरूको यौन शोषण गरेको आरोपमा उच्च अदालत पाटनले एक ‘लामा’ लाई ७ वर्ष कैद र ३० लाख रुपैयाँ क्षतिपूर्तिको फैसला गरेको छ ।

निर्दोष ठहर गर्ने जिल्ला अदालतको फैसला उल्ट्याउँदै उच्च अदालत पाटनका न्यायाधीशद्वय टेकनारायण कुँवर र रमेशबहादुर थापाको इजलासले ‘धर्मगुरु’ सहित उनकी सहयोगीलाई साइबर अपराधमा समेत दोषी ठहर गरेको छ ।

दक्षिणकाली, चाल्नाखेलमा पेमा तासी छुलिङ घोम्बो कासुङ गुम्बा खोलेका रिम्पोछे छोल्टिम दोर्जे योन्तान योञ्जन टुल्कु लामा भनिने ज्ञानबहादुर लामालाई डर, त्रास, धाक देखाई, करकाप र झुक्यानमा पारी एवं शरीर बन्धक राखी युवतीमाथि करणी गरेको ठहर गर्दै अदालतले सजाय तोकेको हो ।

उच्च अदालतको फैसलापछि प्रहरीले लामालाई मंगलबार पक्राउ गरेको छ । लामाकी सहयोगी मनीषा लामालाई भने युवतीका आपत्तिजनक अवस्थाका फोटा फेसबुकमा अपलोड गरेको अभियोगमा अदालतले दोषी ठहर गरेको हो ।

ट्रेकिङ व्यवसायी ज्ञानबहादुर लामा एकाएक नाम परिवर्तन गरेर रिम्पोछे छोल्टिम दोर्जे योन्तान योञ्जन टुल्कु लामा बनेका थिए । आफूमा भगवान्को अवतारको बास भएको भनी उनले सुरुमा काठमाडौंको गैरीधारामा झारफुक लगायतका काम गरे ।

भक्तले दिएको चन्दा र भेटी संकलन गरी दक्षिणकाली, चाल्नाखेलमा पेमा तासी छुलिङ घोम्बो कासुङ गुम्बा स्थापना गरे । उनले त्यहीँबाट आफ्नो नियमित कर्म जारी राखे ।

छालासम्बन्धी रोग लागेकी फर्पिङ प्रथम (परिवर्तित नाम) लाई आमाबाबुले झारफुक गराएर निको बनाउन २०६६ जेठमा लामाकहाँ पुर्‍याए । प्रारम्भिक उपचारपछि लामाले उनलाई एक्लै बनाए ।

कपडा लगाएर उपचार गरे निको नहुने भनी निर्वस्त्र बनाएर झारफुक गरे । फर्पिङ प्रथमले प्रहरीमा दिएको किटानी जाहेरीअनुसार त्यसको करिब २० दिनपछि लामाले उपचार गर्ने कोठामा निर्वस्त्र गराई जबर्जस्ती करणी गरे । कान्तिपुर दैनिकले खबर छापेकाे छ ।