काठमाडौं, ३० असाेज । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा भएको विकास निर्माणको काम धनाढ्य वर्गका व्यक्तिले नदेखेको बताएका छन् ।
दसैं, दिपावली तथा छठलगायत पर्वको उपलक्ष्यमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले बुधबार काठमाडाैंको भृकुटीमण्डपमा आयोजना गरेको चियापान कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले गरिब र मध्यम वर्गले सरकारले गरेको कामको प्रशंसा गरेको बताएका छन् ।
गरिब र मध्यम वर्गका मानिसको जीवनस्तर माथि रहेको तर केही धनाढ्य माथिल्लो स्तरकाले सरकारको आलोचना गरेको आरोप लगाएका छन् । सरकारले समृद्ध नेपाल निर्माणका लागि अभियान सुरु गरेसँगै नेपालमा गरिबी निवारण हुँदै गएको उनले दाबी गरे ।
वर्तमान सरकारले अलपत्र छोडेको ठूला आयोजना सम्पन्न गरेर विकासको क्रममा मुलुकले फड्को मारेको पनि उनले बताए ।
चियापान कार्यक्रममा नेकपाका सचिवालय सदस्य, पार्टीका भातृसंस्थाका नेता तथा कार्यकर्ता, शुभचिन्तक, विभिन्न राजनीतिक दलका नेता, कूटनीतिक नियोगका पदाधिकारी, सुरक्षाकर्मी, पत्रकार, विभिन्न संघसंस्थाका पदाधिकारीसहित सर्वसाधारण उल्लेखनीय उपस्थिति रहेको थियो ।
चाडपर्व र संस्कृतिको धनी नेपालमा राजनीतिक दलले आयोजना गर्ने शुभकामना आदानप्रदान एवं चियापान कार्यक्रमले नेता, कार्यकर्ता र सर्वसाधारणमा आपसमा मिलेर देशको विकास र समृद्धिमा लाग्ने नयाँ सन्देश दिँदै आएको छ ।
दसैंको कोजाग्रत पूर्णिमाका दिन प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले आयोजना गरेको चियापान कार्यक्रमले पनि त्यस्तै प्रकारको राजनीतिक सन्देश दिएको थियो भने सत्तारूढ नेकपाको बुधबारको चियापानले त्यसलाई निरन्तरता दिएको छ ।
नेपालको राजनीतिमा बीपी कोइरालाले भारतबाट २०३३ सालमा स्वदेश फर्केपछि एकता र मेलमिलापका लागि यस्तो चियापानको आरम्भ गरेका थिए भने २०४६ सालमा बहुदलीय प्रजातन्त्रको स्थापनापछि तत्कालीन नेकपा (एमाले)का अध्यक्ष मनमोहन अधिकारीले बडादसैंका अवसरमा चियापान कार्यक्रम आयोजना सुरु गरेका थिए ।
पछि अन्य दल र सामाजिक संस्थाले पनि यस्ता कार्यक्रम गर्दै आएका छन् । तत्कालीन एमाले र नेकपा (माओवादी केन्द्र)बीच ३ जेठ २०७४ मा एकतापछि नेकपाको यस वर्ष दोस्रो चियापान कार्यक्रम हो । राजधानी दैनिकले खबर छापेकाे छ ।















प्रतिक्रिया