बिहीबार, २८ कार्तिक २०७६
DainikNepal.com
बिहीबार, २८ कार्तिक २०७६

उपसचिव र सहसचिवको नयाँ भर्ना खुल्दै

दैनिक नेपाल २०७६ असोज २८ गते ७:२१

काठमाडौं, २८ असाेज । लोकसेवा आयोगले उपसचिव र सहसचिवको नयाँ भर्ना आह्वान गर्ने भएको छ । दुई वर्षदेखि अवरुद्ध रहँदै आएको कर्मचारी भर्ना प्रक्रियालाई सुचारु गर्दै आयोगले बुधबार विज्ञापन आह्वान गर्न लागेको हो ।

आयोग स्रोतका अनुसार विभिन्न सेवा समूहअन्तर्गतका झन्डै १ सय सहसचिव र ३ सय उपसचिव पदमा भर्ना आह्वान गर्न लागिएको छ ।

आयोगका प्रवक्ता एवं सहसचिव किशोरजंग कार्कीले मंगलबारसम्म सबै संख्याको टुंगो लगाएर बुधवार विज्ञापन प्रकाशन गरिने तयारी गरिएको जानकारी दिए ।

‘संघमा झन्डै दुई वषपछि भर्ना आ्हवान हुन लागेको छ । सबै सेवा समूहको संख्या निर्धारण गर्ने काम भइरहेको छ । बुधवार कार्यतालिकाअनुसार विज्ञापन आह्वान गरिनेछ,’ कार्कीले राजधानीसँग भने ।

आयोगले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पठाएको माग आकृति फारामको आधारमा भर्ना प्रक्रिया अगाडि बढाउन लागेको हो । भर्ना आह्वान हुनेमा प्रशासन सेवातर्फको संख्या बढी रहेको आयोगले जनाएको छ ।

यससँगै संघमा रिक्त रहेका ७ हजार विभिन्न पदहरूको कर्मचारी भर्नाको प्रक्रियासमेत सुरु हुने भएको छ । लामो समयदेखि रिक्त पदमा पदपूर्तिको प्रक्रिया सुरु हुन नसक्दा केन्द्रीय सरकारका विभिन्न निकायमा नीतिगत निर्णयदेखि सेवाप्रवाह समेत प्रभावित हुँदै आएको छ ।

संघीय मामिला मन्त्रालयका अनुसार विभिन्न मन्त्रालय तथा निकायका झन्डै ७ हजार कर्मचारीको दरबन्दी रिक्त छ । रिक्त पदहरूमा १ सय ६३ सहसचिव, ३ सयको संख्यामा उपसचिव, ६ सयको संख्यामा शाखा अधिकृत र ६ हजारको हाराहारीमा नायब सुब्बा र खरिदार छन् ।

संघीय संरचना बनेसँगै संघका कर्मचारी प्रदेश तथा स्थानीय तहमा समायोजन भइसकेका छन् । यससँगै संघमा ठूलो संख्यामा कर्मचारी अभाव हुन पुगेको हो ।

मन्त्रालयले अन्य पदमा आवश्यक कर्मचारीको विवरण संकलन भइरहेको जानकारी दिएको छ । विवरण संकलनको काम अन्तिम चरणमा रहेकाले बाँकी पदहरूको पदपूर्ति प्रक्रियासमेत छिट्टै सुरु गरिने मन्त्रालयको भनाइ छ । राजधानी दैनिकले समाचार छापेकाे छ ।

प्रतिक्रिया
सम्बन्धित