नयाँ दिल्ली, २५ असाेज । दुई दिने भ्रमणका क्रममा भारत आएका चिनियाँ राष्ट्रपति सी चिनफिङ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार झन्डै पाँच घण्टा सँगै बिताएका छन्।
चेन्नइ विमानस्थलमा दिउँसो २ बजे उत्रिएका सीलाई विमानस्थलमा तामिलनायडुका राज्यपाल वनवारीलाल पुरोहितले स्वागत गरेका थिए। विमानस्थलमै साँस्कृतिक कार्यक्रम आयोजना गरेर सीको पारम्परिक तरिकाले स्वागत गरिएको थियो।
त्यहाँबाट सी ४ बजे करिब ५८ किलोमिटर दक्षिणको मामिल्लपुरम पुगे। मामिल्पुरममा सीलाई दक्षिण भारतीय पारम्परिक पहिरनमा मोदीले स्वागत गरे। मोदीले सीलाई मामिल्लपुरमका ऐतिहासिक, साँस्कृतिक धरोहरको व्याख्या गर्दै अवलोकन गराए। उनले सीलाई महाभारतका पाँच पाण्डवको नाममा बनेको ‘पञ्च रथ’ को अवलोकन गराए।
कुन्ती पुत्र अर्जुनले तपस्या गरेको स्थान ‘अर्जुनको तपस्या स्थल’ देखाए। मोदीले सीलाई सबै स्थलबारे आफैंले व्याख्या गरेका थिए। गणेश मन्दिरको दर्शनपछि दुवै शक्तिशाली नेता पञ्च रथ मन्दिरमा केही बेर बसे र कुराकानी गरे।
भेट एकदमै अनौपचारिक थियो। सी पनि औपचारिक पोशाकमा थिएनन्। औपचारिक भ्रमणमा टाईसूटमा देखिने सी मामल्लपुरमा पेन्टसर्टमै घुमेका थिए। ऐतिहासिक, सांस्कृतिक संरचना, ढुँगामा कुँदिएका सदियौं पुराना मूर्तिकलालाई सीले पनि बडो चाख दिएर अवलोकन गरेको देखियो।
चीन र भारत दुवै सांस्कृतिक रूपमा सम्पन्न मुलुक हुन्। मोदीको पहिलो बुआन शिखर वार्ताका क्रममा चीनका राष्ट्रपतिले पनि आफ्ना धरोहरको अवलोकन गराएका थिए।
पुरातात्विक सांस्कृतिक धरोहरको संरक्षण र प्रवद्र्धनमा चीन निकै गभ्भीर छ। भारतले पनि ऐतिहासिक, पुरातात्विक र सांस्कृतिक महत्वका धरोहरलाई विश्वसामू पर्यटकीय प्रवद्र्धनका लागि उपयोग गर्ने गरेको छ।
गणेश मन्दिरको अवलोकनपछि सी र मोदी शोर मन्दिरमा पुगे। जहाँ दक्षिण भारतको कला र संस्कृति झल्किने परम्परागत नृत्यसहितको सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको थियो। मोदीले सीसँगको अनौपचारिक वार्ताका लागि दक्षिण भारतको मामल्लपुरम नै छनोट गर्नुको पछाडि यो पनि दुई-तीन कारण रहेको विश्लेषण गरिएको छ।
पहिलो दक्षिण भारतमा भारतीय जनता पार्टीको राजनीतिक पकड कमजोर छ। पछिल्लो समयमा हिन्दीलाई राष्ट्रिय भाषाको रूपमा बनाउने सरकारले गरेको घोषणाले यो क्षेत्रका राजनीतिक दल झनै बिच्किएका थिए।
जसको भर्पाइ स्वरूपमा मोदीले अमेरिकाको ह्यूस्टनमा आयोजना गरिएको हाउडी मोदी कार्यक्रममा तामिल भाषामा समेत सम्बोधन गरेका थिए। अहिले सीको भ्रमणका लागि यही क्षेत्र रोजेर उनले राज्यका द्रबिडियन दलहरूलाई भाजपा नेतृत्वको सरकार तामिलनायडु राज्यको विकासका लागि गम्भीर छ भन्ने सन्देश दिन खोजेको हुन सक्ने विश्लेषण गरिएको छ। अन्नपूर्ण पाेस्ट दैनिकले खबर छापेकाे छ ।















प्रतिक्रिया