सोमबार, २७ असोज २०७६
DainikNepal.com
सोमबार, २७ असोज २०७६

सभामुख पद रिक्त : नेकपाको सभामुख र उपसभामुखमध्ये एक पद गुम्ने

दैनिक नेपाल २०७६ असोज १६ गते ६:४३

काठमाडौं, १६ असाेज । संघीय संसद्की महिला कर्मचारीमाथि यौनदुव्र्यवहार गरेको आरोपमा सभामुखबाट कृष्णबहादुर महराले राजीनामा दिएपछि नेकपाभित्र सभामुख कसलाई बनाउने बहस सुरु भएको छ ।

संविधान र प्रतिनिधिसभा नियमावलीअनुसार नेकपाले सम्हाल्दै आएको सभामुख र उपसभामुखमध्ये एक पद त्याग्नुपर्ने अवस्था पनि आएको छ ।

उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेले बुधबार सूचना जारी गरी सभामुख पद रिक्त भएको बताएकी छन् । अहिले संघीय संसद्को अधिवेशन अन्त्य भएको छ । नयाँ अधिवेशनले नै सभामुख चयन गर्नुपर्नेछ ।

नयाँ सभामुखको निर्वाचन कहिलेसम्म गरिसक्नुपर्छ भन्ने समय संविधान र प्रतिनिधि सभाको नियमावलीमा व्यवस्था नगरिँदा सभामुखको निर्वाचन प्रक्रिया अघि बढाउने विषयमा उपसभामुखले राजनीतिक दलसँगको छलफलबाट टुंगो लगाउने तयारी गरेकी छन् ।

राजीनामा दिएको अवस्थामा पुनः निर्वाचन गर्ने विषयमा कुनै व्यवस्था नभए पनि नयाँ आमनिर्वाचनपछिको अवस्थामा भने प्रतिनिधि सभाको पहिलो बैठक बसेको १५ दिनभित्र सभामुख निर्वाचित गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।

उपसभामुखले सभामुख चयनका लागि निर्वाचनको मिति तोकेको अवस्थामा उनले निर्वाचनको दिन बैठकको अध्यक्षता गर्न पाउने छैनन् । संसद्को ज्येष्ठ सदस्यले बैठकको अध्यक्षता गर्नेछन् । सभामुख निर्वाचनका लागि उपसभामुखले समेत सभामुखमा उम्मेदवारी दिन सक्नेछिन् । उनले उम्मेदवारी दिएपछि उपसभामुख पद स्वतः रिक्त हुन सक्छ ।

यसरी उपसभामुख पद पनि रिक्त भएको अवस्थामा सभामुखमा नेकपाले अर्को उम्मेदवार पनि खडा गर्न सक्छ । यद्यपि उपसभामुखमा तुम्बाहाम्फे कायम रहँदा नेकपाले सभामुख पदमा उम्मेद्वारी दिन भने पाउने छैन । उनी हाल नेकपाको तर्फबाट उपसभामुख छिन् । संविधानले सभामुख र उपसभामुख फरक–फरक राजनीतिक दल र फरक लिंगको हुनैपर्ने व्यवस्था गरेको छ ।

यदि उपसभामुख आफैं सभामुख उम्मेद्वार बनेर उम्मदवारी फिर्ता गर्ने समयमा फिर्ता लिएमा उनी पुनः उपसभामुखमा रहन सक्ने आधार हुँदैन । नेकपाले सभामुख पद आफैंसँग राख्न उपसभामुख तुम्बाहाम्फेले राजीनामा गर्नुपर्ने हुन्छ ।

तर, उनले सभामुखलाई राजीनामा बुझाउनुपर्ने भएकाले यो पनि सम्भव नभएको नेकपा नेता सुवास नेम्वाङले बताए । त्यसैले अब नेकपाले दुवैलाई सभामुखको उम्मेदवार बनाएर फिर्ता गराउँदा उपसभामुख पद भने गुमाउनुपर्ने उनी बताउँछन् ।

तत्कालीन एमाले र माओवादीबीच शक्ति बाँडफाँडका क्रममा माओवादीले सभामुख पद प्राप्त गरेको थियो । अहिले पनि पूर्वमाओवादीले सभामुख पदमा दाबेदारी देखिएको छ । राजधानी दैनिकले खबर छापेकाे छ ।

प्रतिक्रिया
सम्बन्धित