सोमबार, २७ असोज २०७६
DainikNepal.com
सोमबार, २७ असोज २०७६

चिनियाँ राष्ट्रपति सी चिनफिङ दुईदिने राजकीय भ्रमणमा असोज २५ गते आउने

दैनिक नेपाल २०७६ असोज १६ गते ६:४१

काठमाडाैं, १६ असाेज । चिनियाँ राष्ट्रपति सी चिनफिङ दुईदिने राजकीय भ्रमणमा असोज अन्तिम साता काठमाडौं आउने भएका छन् ।

‘असोज २५ मा काठमाडौं आएर २६ गते स्वदेश फर्कने प्रारम्भिक तयारी छ,’ परराष्ट्रका एक उच्च अधिकारीले अन्नपूर्णसँग भने, ‘हामी एजेन्डालगायत अन्य विषयमा छलफलमा छौं।’ सीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्ने तयारी छ।

बेइजिङले राष्ट्रपति सीको भ्रमण मिति तय गरे पनि प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले भने सीको भ्रमण निश्चित भए पनि तिथि तय भइनसकेको बताए।

चिनियाँ राजदूत होऊ यान्छीले पनि चीनबाट नेपालतर्फ उच्चस्तरको भ्रमण छिट्टै हुने बताए पनि भ्रमण मितिबारे केही बोलेकी छैनन्। बेइजिङले सीको नेपाल भ्रमण एक दिनमात्र हुने प्रस्ताव गरे पनि सरकारको अनुरोध स्विकार्दै चिनियाँ पक्षले सी एक रात काठमाडौंमा रहने तयारी गरेको हो।

यसअघि विदेशमन्त्री वाङ यी र चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख सोङ थोउ नेपाल आएर सीको भ्रमण निश्चित गरेका थिए। राष्ट्रपतिको भ्रमणअघि चिनियाँ विदेशमन्त्री र विदेश विभागका प्रमुख तयारीका लागि सम्बन्धित मुलुकमा जाने चिनियाँ चलन छ। अन्नपूर्ण पाेस्ट दैनिकले खबर छापेकाे छ ।

प्रतिक्रिया
सम्बन्धित