काठमाडौं, १५ असाेज । सोमबार साँझ सनसनीपूर्ण खबर फैलियो– सभामुख कृष्णबहादुर महराले संसद् सचिवालयमा कार्यरत एक महिला कर्मचारीलाई बलात्कार प्रयास गरे ।
यो कुरा नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालको कानमा पुग्दा रात छिप्पिन लागिसकेको थियो ।
भएको के थियो भन्ने बुझ्न नेकपा प्रवक्ता एवं सचिवालय सदस्य नारायणकाजी श्रेष्ठ मंगलबार बिहानै महराको सरकारी निवास बालुवाटार पुगे । तर महरा खुल्न चाहेनन् । पारिवारिक सम्बन्ध भएकाले पहिलेपहिले जाने गरेको तर यसपालि ती महिलाको कोठामा नगएको जिकिर गरे ।
त्यसपछि सोधपुछका लागि अध्यक्ष दाहाल आफैं गए । ‘महराले त्यही कुरा दोहोर्याउनुभयो,’ स्रोतले भन्यो, ‘तर दाहालले यस्तो टालटुले जवाफले हुँदैन भन्नुभएपछि उहाँले थप जवाफ दिनुभएन ।’
महरासँग छोटो कुराकानीपछि दाहाल परामर्शका लागि प्रधानमन्त्री ओलीलाई भेट्न उनकै निवास पुगे । नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ पहिल्यै त्यहाँ पुगिसकेका थिए । तीनै जना भेला भएपछि ओलीले महरालाई फोन गरे । महराको बोली फेरियो । स्रोतका अनुसार ओलीसँगको फोनमा महराले भने, ‘म ती महिलालाई चिन्दा पनि चिन्दिनँ र अहिलेसम्म उनको डेरामा गएको पनि छैन ।’
दुई अध्यक्षसँग केही समयको अन्तरालमा भएको संवाद नै बाझिएपछि ओलीले महरालाई आफूले आइतबार साँझ भएका घटनाका सबै रिपोर्ट पाइसकेकाले झूट नबोल्न भने । त्यसपछि महराले भने, ‘म छानबिनका लागि बाटो खोलिदिन्छु ।’ लगत्तै फोन काटियो ।
अध्यक्षद्वयले तुरुन्तै सचिवालय बैठक बोलाउने निधो गरे । बिहान ११ बजे बसेको सचिवालय बैठकमा महराले सभामुख र सांसद पदबाट राजीनामा दिनुपर्ने निर्णय भयो । प्रवक्ता श्रेष्ठले सञ्चारकर्मीलाई निर्णयको जानकारी गराए ।
‘सचिवालय बैठकले महरा आइतबार साँझ ती महिलाको डेरामा गएकै हुन् भन्ने निष्कर्ष निकालेको छ,’ बालुवाटार स्रोतले भन्यो, ‘सुरक्षा स्रोतबाट प्रधानमन्त्रीलाई भएको रिपोर्टिङमा पनि त्यही ब्रिफिङ छ ।’ सचिवालयले निर्णय गरेको करिब आधा घण्टापछि महराले सभामुख पदबाट राजीनामा दिए ।
ती महिलाका अनुसार आइतबार साँझ तीनकुनेस्थित उनको डेरामा पुगेर महराले यौनहिंसा गरेका थिए ।
उनीमाथि हातपात र लछारपछार पनि भएको थियो । उनलाई चोट लाग्यो, महराको चस्मा फुट्यो । उनकै अनुसार ‘प्रहरी बोलाउँछु’ भनेपछि महरा केही हच्किए र कोठाबाट हतारमै निस्किए ।
करिब ९ बजेतिर महिलाले प्रहरीलाई फोन गरिन् । त्यसपछि पूर्वसभामुख ओनसरी घर्ती मगर र नेपाली कांग्रेसकी सांसद उमा रेग्मीलाई पनि फोनबाटै जानकारी गराइन् ।
महरा र महिलाको पारिवारिक सम्बन्धबारे जानकार घर्तीले केही प्रतिक्रिया दिइनन् । तर सोमबारै केही पत्रकारलाई घटनाबारे बताएकी रेग्मीले मंगलबार चितवनमा पत्रकार सम्मेलन गरेरै यसबारे जानकारी दिइन् ।
‘११ बजेतिर फोन आयो । अरू दिन त म सुत्छु, संयोगवश त्यो दिन सुतेको रहेनछु,’ रेग्मीले भनिन्, ‘कसले गर्यो, अर्जेन्ट नै पो हो कि भनेर फोन उठाएँ । अनि उहाँले रुँदै घटनाबारे बताउनुभयो ।’
ती महिलाले आफूलाई महराले यौन दुर्व्यवहार गरेको भनेर विभिन्न अनलाइन पत्रिकामा अन्तर्वार्ता दिएकी थिइन् । सोमबार साँझ कान्तिपुरसँगको कुराकानीमा भने उनले महराले आफूलाई हात हालेको र उनको कुटाइबाट हात र अनुहारमा चोट लागेको प्रतिक्रिया दिइन् । उनले महराले आफूलाई यसअघि पनि बारम्बार सताउने गरेको पूर्व माओवादीका महिला नेताहरूलाई भन्दै आएको सुनाइन् ।
सोमबार साँझदेखि मंगलबार साँझसम्म आइपुग्दा महरा र पीडित महिलाको बयान बारम्बार फेरिएको छ । सोमबार महराबाट बलात्कार प्रयास नै भएको बताएकी महिलाले मंगलबार साँझ आफूलाई उनले केही पनि नभनेको र उनी आफ्नो कोठामा आउँदा पनि नआएको अन्तर्वार्ता एक अनलाइनलाई दिएकी छन् ।
उनले सोमबार ‘हाम्राकुरा डट कम’लाई महराले आफूलाई बलात्कारको प्रयास गरेको बताएकी थिइन् । उनीसँग भिडियो अन्तर्वार्ता भइरहँदा महराले गरेको टेलिफोन नम्बर पनि उनको मोबाइलमा देखिएको थियो । मंगलबार नागरिकखबरसँगको भिडियो कुराकानीमा भने उनले सभामुख महराले आफूमाथि कुनै दुर्व्यवहार नगरेको बताएकी छन् ।
‘आइतबार साँझ मेरो कोठामा कोही पनि आएको थिएन, उहाँसँग सिंहदरबारमा कहिलेकाहीं मात्रै भेट हुन्छ, उनले पछिल्लो अन्तर्वार्तामा भनेकी छन्, ‘अहिले त धेरै भयो भेट पनि भएको छैन ।’
उता ती महिलाको कोठामा जाँदै नगएको भनेर सुरुवाती वक्तव्य निकालेका महराले पछि आफू त्यहाँ पुगेको भनेर दिएको अन्तर्वार्ता अनलाइनमा सार्वजनिक भएका थिए ।
ती महिलाका जाजरकोट स्थायी घर भएका श्रीमान् जागिरको सिलसिलामा २०४६ तिर रोल्पा गएका थिए । त्यही बेला उनको महरासँग सामीप्यता बढ्यो । धनुषाकी ती महिला आफ्ना बुवाआमासित दाङ गइन् । दाङतिरै उनीहरूको चिनजान भयो, प्रेम बस्यो र बिहे गरे । उनका श्रीमानका अनुसार बिहे ०४७ सालमा महराले नै गराइदिएका थिए ।
‘राजनीतिक हिसाबले उहाँ मेरो गुरु हो, हामी ०४७ सालदेखि २ वर्ष उहाँकै घरमा बसेका थियौं, अहिले घटना सुनेर पत्याउनै सकिरहेको छैन’, उनका श्रीमानले भने । तनहुँबाट मंगलबार साँझमात्रै काठमाडौं आइपुगेका उनका श्रीमानले घटनाबारे कसरी अघि बढ्ने भन्ने कुरा श्रीमतीसँग छलफल गरेपछि मात्रै निर्णय गर्न सकिने बताए । कान्तिपुर दैनिकले खबर छापेकाे छ ।















प्रतिक्रिया