५ कार्तिक २०८३, बिहिबार

मेलम्चीमा फेरि एक वर्षको वाचा, सिनो हाइड्रोसँग सम्झौता

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ असाेज । डेढ दशकदेखि सर्वाधिक चर्चामा रहेको मेलम्ची खानेपानी आयोजना बनाउन पछिल्लोपटक नयाँ ठेकेदार कम्पनी सिनो हाइड्रोसँग सम्झौता भएको छ।

निर्माण सुरु भएको १५ वर्ष अवधिमा पटकपटक विवादमा आएको यो आयोजना बनाउन अहिलेसम्म तीनवटा ठेकेदार कम्पनीसँग सम्झौता भएको थियो।

आइतबार चौथो ठेकेदार कम्पनी सिनो हाइड्रोसँग आयोजना कार्यालयले एक वर्षभित्रै सुरुङ निर्माण सक्ने सम्झौता गरेको हो। तीन दशकदेखिको हल्ला र डेढ दशकदेखिको विवादैविवादका कारण नयाँ सम्झौताअनुसार काम हुनेमा काठमाडौंवासी ढुक्क छैनन्।

सम्झौताअनुसार सुरुङ निर्माणको काम भए अस्थायी हेडवक्र्स (बाँध) मार्फत मेलम्चीको पानी एक वर्षभित्र उपत्यकामा आउनेछ। आयोजना प्रमुख तिरेशप्रसाद खत्रीले आयोजना र सिनो हाइड्रोबीच सुरुङ निर्माण एक वर्षभित्रै सम्पन्न गर्ने सम्झौता भएको जानकारी दिए।

‘ठेकेदार कम्पनीले दसैंलगत्तै काम गर्ने प्रतिबद्धता व्यक्त गरेको छ,’ उनले भने, ‘कम्पनीले निर्माण सामग्री ल्याउनुका साथै साइटको अवलोकन पनि गरिसकेको छ। त्यसैले असोज २६ गतेदेखि धमाधम निर्माणको काम सुरु हुनेछ।’

खत्रीले मेलम्ची आयोजनाको काम छिटो सके ठेकेदार कम्पनीलाई प्रोत्साहन पुरस्कारको व्यवस्था गरेको बताए। ‘तोकिएको समयभन्दा छिटो सकेमा ठेकेदार कम्पनीले दैनिक ०.१५ प्रतिशतका दरले (१२ लाख ७५ हजार) प्रोत्साहन पुरस्कार पाउनेछन्,’ उनले भने, ‘तोकेको समयमा निर्माण सम्पन्न नगरेको खण्डमा पनि सोही अनुसारको जरिवाना तिर्नुपर्नेछ।’ नागरिक दैनिकले खबर छापेकाे छ ।