५ कार्तिक २०८३, बिहिबार

कारागारबाटै धम्काउँदै पैसा असुल्दै

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नेपालगन्ज, १३ असाेज । बाँकेको नेपालगन्ज कारागारमा ज्यान मार्ने उद्योगमा पुर्पक्षका लागि थुनामा रहेको व्यक्तिले कारागारबाटै धम्काई नेपालगन्जका विभिन्न ट्राभल एजेन्सीबाट अनधिकृत रकम असुल्ने गरेको बाँके प्रहरीले तथ्य फेला पारेको छ ।

बाँके प्रहरीले ती व्यक्तिलाई रकम असुल्न सघाएको आरोपमा एक जनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक वीरबहादुर ओलीले दिएको जानकारीअनुसार नेपालगन्ज कारागारमा अपहरण तथा ज्यान मार्ने उद्योगमा पुर्पक्षका लागि थुनामा रहेका सानोबाबु भन्ने धनबहादुर सुनारले कारागारभित्रैबाट धम्काई नेपालगन्जमा सञ्चालनमा रहेका विभिन्न टुर्स एन्ड ट्राभल्सबाट दैनिक रकम असुल्ने गरेको तथ्य फेला पारेको हो ।

प्रहरीका अनुसार धनबहादुरले आफू कारागारमा रहेका कारण ती टुर्स एन्ड ट्राभल्सबाट रकम असुल्न नेपालगन्ज–२ मा बस्दै आएका उनका २४ वर्षीय भतिजा युवराज सुनारलाई प्रयोग गरी रकम उठाउने गरेका थिए । सोही आरोपमा प्रहरीले युवराजलाई नियन्त्रणमा लिएको हो ।

प्रहरी उपरीक्षक ओलीले नेपालगन्जमा विधिवत् रूपमा सञ्चालनमा रहेका सिम्ताली टुर्स एन्ड ट्राभल्स, पञ्चकोसी टुर्स एन्ड ट्राभल्स, देउती टुर्स एन्ड ट्राभल्स र नेपालगन्ज टुर्स एन्ड ट्राभल्सले नेपालबाट भारतका विभिन्न स्थान जाने यात्रुको टिकट काटेर सीमापारि रुपैडिहाबाट बसमा चढाउने कार्य गर्दा धनबहादुरले कारागारभित्रैबाट ती टुर्स एन्ड ट्राभल्सका सञ्चालकलाई धम्काई प्रतिसवारीसाधन ४ हजार ८ सय असुल्ले गरेको पाइएको बताए ।

ओलीले भने, ‘करिब अढाइ वर्षदेखि धनबहादुरले कारागारभित्रैबाट ती टुर्स एन्ड ट्राभल्स सञ्चालकलाई धम्काई प्रतिसवारीसाधन ४ हजार ८ सयका दरले रकम असुल्ने गरेको पाएका छौं । धनबहादुरलाई यो काममा उनका भतिजाले सघाउने गरेकाले युवराजलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेका छौं ।’

उनले धनबहादुरको आदेशमा दैनिक संकलन गरेको रकम विभिन्न व्यक्तिको नाममा आईएमई गरेर पठाउने गरेको तथ्य पाइएको बताए । प्रहरीले अढाइ वर्षमा यसरी नै युवराजले १८–१९ लाख रुपैयाँ उठाएको प्रारम्भिक अनुसन्धानमा खुलेको जनाएको छ ।

प्रहरीका अनुसार धनबहादुरले कारागारमा उपलब्ध हुने फोन सेवामार्फत ती टुर्स एन्ड ट्राभल्सलाई धम्काउने र युवराजले हरेक दिन ती ट्राभल्सबाट रकम लिने गरेका हुन् ।

को हुन् धनबहादुर ?

१२ वैशाख २०७१ मा सुधीरसिंह ठकुरीमाथि कुटपिट गरेको अपराधमा सजाय पाएको, १२ पुसमा नेपालगन्जमा एक व्यक्तिलाई फोनमा ५ लाख फिरौती मागेको अभियोगमा १३ महिना सजाय भोगेको र ३ पुस २०७४ मा नेपालगन्ज–१ का विशाल सुनारलाई खुडा प्रहार गरेको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका व्यक्ति हुन् सुनार ।

सो केसलाई नजिकबाट अनुसन्धान गर्दै आएका बाँके प्रहरीका प्रवक्ता समेत रहेका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहले भने, ‘कारागारमा रहेका सुनारले कारागारभित्रैबाट फोन प्रयोग गरी ‘मेरो मान्छे आउँछ, पैसा नदिए ठीक हुन्न’ भन्दै परिवारलाई समेत थ्रेट दिने गरेको जानकारी आएपछि हामीले अनुसन्धान सुरु गरेका हौं ।’

ओलीले धनबहादुरले धम्काएकाबाट प्रत्येक दिन प्रतिसवारीसाधनबाट ४ हजार ८ सय रुपैयाँ बुझेर ल्याउने गरेको पाइएको र अझ विस्तृत अनुसन्धान जारी रहेको बताए ।यसैबीच नेपालगन्ज कारागारका जेलर भरत पाण्डेले सो घटनाबारे आफूलाई कुनै जानकारी नभएको बताए ।