६ कार्तिक २०८३, शुक्रबार

नेकपालाई चीन, कांग्रेसलाई भारत

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ असाेज । विपक्षी कांग्रेसले छिमेकी भारत र अमेरिका मैत्री समूहको संयोजकको जिम्मेवारी पाएको छ । ३३ देशका संसद्सँग सहकार्य गर्न संसद्ले प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसद समेटेर मैत्री समूह गठन गरेको हो । अधिकांश मैत्री समूहका संयोजकमा शीर्ष नेताहरू नै छन् ।

दलीय भागवण्डाअनुसार सत्तासीन नेकपा २१, विपक्षी कांग्रेस ६, सत्तासीन समाजवादी पार्टी ३ र राजपाले ३ देशको मैत्री समूहको संयोजक पाएका छन् । द्धिपक्षीय सम्बन्ध कायम रहेका तथा नेपालका दूतावास रहेका मुलुकसँग संसदीय अभ्यास र अनुभव आदानप्रदान गर्न समूह गठन गरिएको संसद् सचिवालयले जनाएको छ । ‘मित्र राष्ट्रबीचको कुटनीतिक सम्बन्ध तथा मित्रता प्रभावकारी बनाउन, कतिपय विषयमा लबिङ गर्न र एकापसमा अनुभव साटासाट गर्न मैत्री समूहले काम गर्छन्,’ संसद् सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईले भने ।

छिमेकी भारत र अमेरिका मैत्री समूहको संयोजक कांग्रेसले लिएको छ भने छिमेकी चीन र बेलायत मैत्री संयोजक सत्तासीन नेकपाले लिएको छ । भारत मैत्री समूहको संयोजकमा कांग्रेस नेता विजय गच्छदार चयन भएका छन् । विनोद चौधरी, रेणु यादवसहित १० जना भारतीय मैत्री समूहका सदस्य छन् । छिमेकी चीन मैत्री समूहको संयोजक भने सत्तासीन नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ छन् । नेकपा प्रमुख सचेतक देव गुरुङ, अग्नि सापकोटा, शान्ता चौधरी लगायत १२ जना चीन मैत्री समूहका सदस्य चयन भएका छन् ।

पुनस्र्थापित प्रतिनिधिसभा र त्यसपछि गठन भएका दुवै संविधानसभामा संसदीय मैत्री समूह सक्रिय थिए । विपक्षी कांग्रेसले अमेरिका मैत्री समूहको संयोजक पनि पाएको छ । कांग्रेसका डा. मिनेन्द्र रिजाल संयोजक रहेको समूहमा राजपाका शरतसिंह भण्डारी, कांग्रेसका दिलेन्द्र बडु, पुष्पा भूसालसहित १० जना सदस्य छन् । सत्तासीन नेकपाका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधव नेपाल फ्रान्स मैत्री समूहको संयोजक बनेका छन् ।

नेकपा संसदीय दलले नेता नेपाललाई भुटानको संयोजकमा तोकेर पठाए पनि नेपालले फ्रान्स रोजेका थिए । कांग्रेस महामन्त्री शशांक कोइराला उक्त समूहका सदस्य छन् । जर्मनी मैत्री समूहको संयोजकमा समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई चयन भएका छन् । राधेश्याम अधिकारी, हिरा गुरुङ, रविन्द्रराज शर्मालगायत ९ जना जर्मनी मैत्री समूहका सदस्य छन् । विपक्षी कांग्रेस सभापति शेरबहादुर देउवाको भने मैत्री समूह तोकिएको छैन ।

राजपाका नेता महन्थ ठाकुर, राजेन्द्र महत्तो, अनिल झा पनि संसदीय मैत्री समूहका संयोजक चयन भएका छन् । ठाकुर श्रीलंका, महतो ब्राजिल र झाले दक्षिण अफ्रिका संसदीय मैत्री समूहको संयोजकको जिम्मेवारी पाएका छन् । सत्तासीन नेकपाका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल बेलायत संसदीय मैत्री समूहको संयोजक चयन भएका छन् । कांग्रेसका प्रदीप गिरि, अमरेश सिंह, नेकपाका विजय सुब्बा, शेरबहादुर कुँवरसहित ९ जना समितिका सदस्य चयन भएका छन् ।

अष्ट्रेलिया मैत्री समूहको संयोजकमा नेकपाकै नेता भीम रावल चयन भएका छन् । कांग्रेसका सुजाता कोइराला, सुरेन्द्र पाण्डे, राजपाका राजकिशोर यादवसहित ११ जना सदस्य छन् । नेकपाका सुरेन्द्र पाण्डे जापान, लेखराज भट्ट बहराइन, हरिबोल गजुरेल बंगलादेश, कृष्णगोपाल श्रेष्ठ बेल्जियम, खगराज अधिकारी क्यानडा, विरोध खतिवडा इजिप्ट, राधा ज्ञवाली आयरल्याण्ड, सुरेन्द्र कार्की इजरायल, छविलाल विश्वकर्मा मलेसिया, प्रभु साह संयुक्त अरब इमिरेटस् र पम्फा भूसाल भियतनाम मैत्री समूहको संयोजक चयन भएका छन् ।

उत्तर कोरिया मैत्री समूहको संयोजकमा सत्तासीन नेकपाकै दिनानाथ शर्मा चयन भएका छन् । कांग्रेसका मुख्य सचेतक बालकृष्ण खाँण, नेमकिपाका प्रेम सुवालस हित ९ जना उत्तर कोरिया मैत्री समूहमा परेका छन् । पूर्वसभामुख एवं नेकपा सांसद ओनसरी घर्तिमगर नर्वे, सोमप्रसाद पाण्डे ओमान, शिवकुमार मण्डल पाकिस्तान र ह्दयेश त्रिपाठी कतार मैत्री समूहको संयोजक चयन भएका छन् । समाजवादीका राजेन्द्र श्रेष्ठ संयोजक रहेको रुस मैत्री समूहको सदस्यमा नेकपाका महासचिव विष्णु पौडेल र कांग्रेसका गगन थापा सदस्य छन् ।

कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्की क्यूवा, चित्रलेखा यादव स्वीट्रल्यान्ड, दिव्यमणि राजभण्डारी डेनमार्क, डिला संग्रौला साउदी अरबको संयोजक बनेका छन् ।

समाजवादी पार्टीकी सरिता गिरि भुटान संसदीय मैत्री समूहको संयोजकको जिम्मेवारी पाएकी छन् । संसद्मा विचाराधीन नागरिकता संशोधन विधेयकमा विदेशी बुहारीलाई ७ वर्षपछि मात्र वैवाहिक अंगीकृत नागरिकता दिनुपर्ने सत्तासीन नेकपाको प्रस्तावपछि गिरिले भुटान मैत्री समूहमा नबस्ने घोषणा गरेकी थिइन् । अन्नपूर्ण पाेस्ट दैनिकले समाचार छापेकाे छ ।

को कताको संयोजक

चीन : सुवास नेम्वाङ

भारत : विजय गच्छदार

अमेरिका : मिनेन्द्र रिजाल

फ्रान्स : माधव नेपाल

बेलायत : झलनाथ खनाल

जर्मनी : डा. बाबुराम भट्टराई

ब्राजिल : राजेन्द्र महत्तो

जापान : सुरेन्द्र पाण्डे

नर्वे : ओनसरी घर्तिमगर

कतार : ह्दयेश त्रिपाठी

श्रीलंका : महन्थ ठाकुर

अष्ट्रेलिया : भीम रावल

भुटान : सरिता गिरि