काठमाडौं, १० असाेज । नेपाली कांग्रेसले तत्कालीन फोरम लोकतान्त्रिकसँग दुई वर्षअघि भएको पार्टी एकतालाई पूर्णता दिन अन्तिम तयारी गरेको छ ।
आफूसँग पार्टी विलय गराएको लोकतान्त्रिक फोरमका नेता कार्यकर्तालाई दुई वर्षपछि स्थानीय तहदेखि केन्द्रसम्म नै जिम्मेवारी दिएरै कांग्रेसले समायोजनको काम सक्न लागेको हो ।
कांग्रेसले शुक्रबार (आज) बस्ने केन्द्रीय समिति बैठकबाट नै विजयकुमार गच्छदार नेतृत्वको तत्कालीन फोरम लोकतान्त्रिकबाट कांग्रेसमा आएका नेता तथा कार्यकर्ताको समायोजन टुंगो लगाउँदै एकतालाई पूर्णता दिन लागेको हो ।
कांग्रेस उपसभापतिसमेत रहेका समायोजन समितिका संयोजक विमलेन्द्र निधिले शुक्रबार बस्ने केन्द्रीय समिति बैठकले समायोजनका बाँकी सबै कामको अन्तिम टुंगो लगाउने बताए ।
‘शुक्रबार (आज) बस्ने केन्द्रीय समिति बैठकले समायोजनका सबै विषयलाई टुंगो लगाउनेछ, त्यहीअनुसार तयारी गरिएको छ, स्थानीय तहदेखि केन्द्रसम्म नै समायोजन टुंगो लाग्छ,’ उपसभापति निधिले भने ।
उनका अनुसार स्थानीय तह, जिल्ला समिति, ३ सय ३० प्रदेश निर्वाचन क्षेत्र, १ सय ६५ वटै संघीय निर्वाचन क्षेत्रमा समायोजनको टुंगो लाग्नेछ ।
हाल लोकतान्त्रिक फोरमबाट कांग्रेसमा आएकामध्ये सबैभन्दा उच्च पदको जिम्मेवारीमा गच्छदार मात्रै छन् । उनलाई एकता भएको एक वर्षपछि सभापति देउवाले पार्टी उपसभापतिमा मनोनीत गरेका थिए ।
उनी हाल कांग्रेस संसदीय दलका उपनेतासमेत छन् । त्यसबाहेक राजधानीमा गत पुसमा सम्पन्न महासमिति बैठकमा गच्छदार निकट २ सय नेतालाई महासमिति सदस्य पदमा मनोनीत गरिएको थियो ।
उपसभापति गच्छदारले हाल क्रियाशील सदस्य २० हजार पाउनुपर्ने दाबी गर्दै आएका छन् । यसैगरी १ हजार महाधिवेशन प्रतिनिधिमा उनले दाबी छाडेका छैनन् ।
कांग्रेस स्रोतका अनुसार समायोजन टुंगो लगाउनका लागि ११ देखि १५ जनासम्म केन्द्रीय सदस्य गच्छदारलाई दिने तयारी भएको छ ।
जसअनुसार जितेन्द्र देव, वीरेन्द्र नेपाली, गणेश लामा, रामजनम चौधरी, याेगेन्द्र चौधरी, महेश खर्बुजा, भारतेन्दु मल्लिक, सुमित्रा चौधरीलगायतलाई केन्द्रीय सदस्य बनाउने तयारी भएको हो । हाल कांग्रेसमा ८५ जना केन्द्रीय सदस्य छन् । राजधानी दैनिकले खबर छापेकाे छ ।















प्रतिक्रिया