काठमाडौं, ९ असाेज । कांग्रेस नेता शेखर कोइराला एक साताअघि सांघाईमा थिए । उनी जलवायु र सीमा वारपार जल उपयोगसम्बन्धी कार्यशालामा सहभागी हुन स्वर्णिम वाग्ले, गोविन्द पोखरेललगायत कांग्रेस सहकर्मीहरूका साथमा त्यसतर्फ गएका थिए ।
कोइरालाले नेकपा र चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) बीच ‘सी विचारधारा’ माथि छलफल हुँदैछ भन्ने जानकारी चीनबाट फर्केपछि मात्रै थाहा पाए । दुई कम्युनिस्ट पार्टीबीच दुई दिन छलफल भएर छबुँदे सम्झौता गरिएपछि कांग्रेसभित्र तरंग पैदा भएको छ र नेकपा चीनतिर ढल्केको अड्कलबाजीसमेत भइरहेको छ । कांग्रेस नेता कोइराला भने यसलाई दुई कम्युनिस्ट पार्टीबीच अनुभव साटासाट गर्ने माध्यमका रूपमा मात्रै बुझ्न आग्रह गर्छन् ।
सांघाईमा कोइराला सहभागी कार्यक्रम जलवायु परिवर्तनसँग सम्बन्धित भए पनि पहिल्यै नखुलाइएको ‘बेल्ट एन्ड रोड इनिसिएटिभ’ (बीआरआई) मै चीनको मुख्य सरोकार थियो । राष्ट्रपति सी चिनफिङबाटै प्रवर्द्धित बीआरआईबारे चिनियाँ अधिकारीहरूले विभिन्न कोणबाट कांग्रेस पार्टीको धारणा बुझ्न खोजेका थिए ।
नेता कोइरालाका अनुसार बीआरआईकै ‘काउन्टर’ का रूपमा अमेरिकाको सक्रियतामा अघि बढाइएको ‘इन्डो–प्यासिफिक स्ट्राटेजी’ (आईपीएस) प्रति उनीहरूको मुख्य चासो देखिन्थ्यो । आईपीएसको असर बीआरआईमा त पर्दैन भन्ने सेरोफेरोमा उनीहरूको प्रश्न हुन्थ्यो ।
बेइजिङमा बीआरआईबारे छलफल गर्न सीपीसीको स्कुल विभागको थिंक ट्यांकका रूपमा रहेको चाइना रिफर्म फोरमले कार्यक्रम गरेको थियो । कोइरालाले उपविदेशमन्त्री लो चाओहुईसँग पनि बेइजिङमा छुट्टै भेटघाट गरेका थिए । निकट भविष्यमा हुन लागेको चीनका राष्ट्रपति सीको नेपाल भ्रमण, नेपाल–चीन, नेपाल–भारत सम्बन्ध र रणनीतिक महत्त्वका विषयमा छलफल भएको कोइरालाले जानकारी दिए ।
कोइरालाअघि कांग्रेस नेता गगन थापा पनि चीन भ्रमण गरेर फर्केका थिए । उनलाई चिनियाँ कम्युनिस्ट पार्टीकै निम्तोमा बोलाइएको थियो । त्यतिबेला उनलाई अध्ययन गर्ने क्षेत्र रोजाइएको थियो । थापाले कृषिमा भइरहेको परिवर्तन र पुराना सहरको संरक्षणबारे अध्ययन गरेका थिए ।
पछिल्लो दशक चीनले नेपाली राजनीतिक दलका नेता, मन्त्री, सांसद, भ्रातृ संस्था र सञ्चारकर्मीसहित हरेक क्षेत्रका मानिसहरूलाई आफ्नो देशमा निम्तो गर्ने गरेको छ । मुख्य गरी सत्तारूढ नेकपा र प्रमुख प्रतिपक्ष कांग्रेसका नेता तथा सांसदको चीन भ्रमण बाक्लिँदै गएको छ ।
‘चीन अब सफ्ट डिप्लोमेसीबाट ओपन डिप्लोमेसीमा आउन थालेको छ,’ शेखर कोइरालाले भने, ‘पछिल्ला भ्रमण र सी विचारधाराबारे भएको छलफललाई यसैको एउटा अंगका रूपमा लिन सकिन्छ ।’ कान्तिपुर दैनिकले खबर छापेकाे छ ।















प्रतिक्रिया