काठमाडौं, ८ असाेज । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)बीच मंगलबार भाइचारा सम्बन्धको समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
सझदारीपत्रमा हस्ताक्षर भएसँगै अब औपचारिक रूपमै भाइचार सम्बन्ध कायम भएको छ ।नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालको उपस्थितिमा नेकपा वरिष्ठ नेता, पूर्वप्रधानमन्त्री एवं विदेश विभाग प्रमुख माधवकुमार नेपाल र चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख सोङ ताओले समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् ।
काठमाडौंस्थित होटल म्यारिअटमा भएको छलफलपछि दुई पार्टीबीच औपचारिक सम्बन्ध स्थापित भएको हो । सझदारीपत्रमा उच्चस्तरीय भ्रमण, कार्यकर्ता तहको अध्ययन भ्रमण वृद्धि, पार्टी/पार्टी अनुभव आधारित सहयोग आदानप्रदान, युवा र स्थानीय नेताहरूबीच भ्रमण आदानप्रदान, जनस्तरको सम्बन्ध (बुद्धिजीवी, नागरिक संस्था, मिडिया) अभिवृद्धि र विचार/सिद्धान्तमा आधारित वार्षिक कार्यक्रम सञ्चालन विषय उल्लेख गरिएको छ ।
समझदारीपत्रमा हस्ताक्षरसँगै मंगलबारको पहिलो कार्यक्रम सम्पन्न भएको छ भने ‘विचारधारात्मक छलफल कार्यक्रम’ जारी नै रहेको छ । अबको कार्यक्रम थप दुई सत्रमा सञ्चालन हुने नेकपा विदेश विभागका उपप्रमुख विष्णु रिजालले बताए । विदेश विभाग प्रमुख सोङ ताओ नेतृत्वको टोली बुधबार चीन फर्किने कार्यक्रम रहेको छ ।
यस्तो छ ६ बुँदे समझदारी
१. उच्चस्तरीय भ्रमण
२. कार्यकर्ता तहको अध्ययन भ्रमण वृद्धि
३.पार्टी/पार्टी अनुभवमा आधारित सहयोग आदानप्रदान
४. युवा र स्थानीय नेताबीच भ्रमण आदानप्रदान
५. जनस्तरको सम्बन्ध (बुद्धिजीवी, नागरिक संस्था, मिडिया) अभिवृद्धि
६.विचार/सिद्धान्तमा आधारित वार्षिक कार्यक्रम सञ्चालन
सत्तारुढ चिनियाँ कम्युनिस्ट पार्टी र नेकपाबीच पहिलोपटक यो स्तरको वैचारिक छलफल भएको हो । यसअघि पार्टीको उच्च नेतृत्व तहमा मात्रै हुँदै आएको वैचारिक छलफल यसपटक चीनको राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणअघि बृहत् रूपमा आयोजना गरिएको हो । २७ असोजमा चीनका राष्ट्रपति सी चिनफिङ आउने बताइएको छ ।
दोस्रो कार्यकालका लागि चिनियाँ कम्युनिस्ट पार्टीको सर्वाधिक शक्तिशाली महासचिव र राष्ट्रपति चयन भएसँगै सी चिनफिङले पार्टी विधानमै ‘सी चिनफिङ विचारधारा’ समावेश गरेका छन् । जसलाई चीनमा माओत्सेतुङपछिकै ठूलो वैचारिक विकास मानिएको छ ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्कुल विभाग र चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) विदेश विभागको संयुक्त आयोजनामा काठमाडौंमा आयोजित दुई दिने विचार गोष्ठी कार्यक्रम मंगलबार सम्पन्न भएको छ ।
सी चिनफिङ नयाँ युगको चिनियाँ विशेषतायुक्त समाजवादी विचारधाराको परिचयात्मक कार्यक्रम तथा चिनियाँ कम्युनिस्ट पार्टी र नेपाल कम्युनिस्ट पार्टीबीचको सैद्धान्तिक विचार गोष्ठी कार्यक्रम सोमबारदेखि काठमाडौंमा सुरु भएको हो ।
नेकपा स्थायी कमिटीका सदस्य एवं स्कुल विभागका उपप्रमुख देवेन्द्र पौडेलले कार्यक्रम उत्साहजनक, उपलब्धिमूलक रहेको बताए । कार्यक्रमले एकअर्काले अपनाएको प्रणाली, अभ्यास, विचार र सिद्धान्तबारे बुझ्न मद्दत पुगेको उनले बताए ।
सीपीसीका केन्द्रीय सदस्य एवं संगठन विभागका सदस्य सु नानपिङले कम्युनिस्ट पार्टी निर्माण र त्यसमार्फत राज्य चलाउन अनुशासित, संगठित र बलियो संगठन हुनुपर्ने बताए ।
कम्युनिस्ट पार्टीमार्फत सत्ता सञ्चालन गर्नका लागि व्यक्तिभन्दा संगठन ठूलो र बलियो हुनुपर्ने उनले बताए । व्यक्तिभन्दा माथि संगठन हुनुपर्ने बताउँदै उनले संगठन बलियो र अनुशासित नभए केही पनि गर्न नसकिने बताए । राजधानी दैनिकले खबर छापेकाे छ ।















प्रतिक्रिया