६ कार्तिक २०८३, शुक्रबार

चीनतिर ‘ढल्कियो’ नेकपा

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ असाेज । सत्तारूढ नेकपा चीनतिर ढल्किएको छ। चिनियाँ कम्युनिस्ट पार्टीले अवलम्बन गर्दै आएको ‘सी चिनफिङ विचारधारा’ बारे दुवै देशका कम्युनिस्ट पार्टीले काठमाडौंमा छलफल गरी भाइचारा सम्बन्ध स्थापना गर्ने घोषणा गरेका हुन्। दुई पार्टीले एकअर्काका विचार, सिद्धान्त र प्रयोगलाई बुझ्ने तथा समाजवादको दिशातिर जाने रणनीतिक योजनाबारे छलफल चलाएका छन्।

आगामी दिनमा दुई देशका केन्द्रीय पार्टी स्कुलमा प्रयोग गरिने पाठ्यक्रमको तयारी र अध्यापन विधि, नेताकार्यकर्ताको द्विपक्षीय अध्ययन भ्रमणमार्फत अनुभव आदानप्रदान गर्ने अवसरको सिर्जना गर्ने प्रतिबद्धता दुवै पार्टीका नेताहरूले गरेका छन्।

नेकपा स्कुल विभाग र चिनियाँ कम्युनिस्ट पार्टीको विदेश विभागले काठमाडौंमा संयुक्त रूपमा औपचारिक कार्यक्रम आयोजना गरी एकअर्कालाई सहयोग गर्ने नीति प्रस्ट्याएका हुन्। दुई दिनसम्म चल्ने अन्तरक्रियामा नेकपाका झन्डै तीन सय र चिनियाँ कम्युनिस्ट पार्टीका ४० जना नेता सहभागी छन्।

कम्युनिस्ट पार्टी स्थापनाको झन्डै १०० वर्ष, जनवादी गणतन्त्र चीन स्थापनाको ७० औं वर्ष र चिनियाँ राष्ट्रपतिको हुन लागेको आसन्न नेपाल भ्रमणको पूर्वसन्ध्यामा दुई पार्टीबीच विकसित भइरहेको सम्बन्धले नेकपा चीनतिर ढल्किएको स्पष्ट हुन्छ।

अन्तरक्रिया उद्घाटन गर्दै प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी ओलीले दुई पार्टीबीचको विचारधारात्मक छलफलले नयाँ थालनी गरेको भन्दै चिनियाँ कम्युनिस्ट पार्टीको नीति कार्यक्रमको प्रशंसा गरेका थिए।

दुई पार्टीबीच माथिल्लो स्तरमै सम्बन्ध स्थापित गर्न खोजिएको प्रधानमन्त्री ओलीको भनाइ थियो। बलियोले थिचोमिचो गर्दै आएको इतिहास सुन्न परिरहेका बेला चीनले भने नयाँ परिदृश्य देखाएको भन्दै प्रधानमन्त्री ओलीले शान्ति, अमनचयन, आर्थिक विकास र समृद्धिबारे मात्र चीनले सोचेको बताए।

ओलीले चीनले आफ्नै मौलिकतामा आधारित माक्र्सवादको सिर्जनशील प्रयोग गरेर आर्थिक समृद्धि र विकासको मोडेल दिएको बताए।ओलीले भने, ‘मुलुकहरू बलियो हुँदा कहिलेकाहीं अनपेक्षित रूपमा शक्तिको दम्भ पनि बढ्छ। तिनीहरूबाट असहज गतिविधि पनि हुन्छ। तर चीन शक्तिशाली भईकन पनि त्यस्ता अवाञ्छित गतिविधिमा नलाग्नु विश्व राजनीतिक इतिहासमा नयाँ परिदृश्य हो।’

कम्युनिस्ट पार्टीले क्रान्तिको कुरा मात्र गर्छन्, विकास गर्न सक्दैनन् भन्ने प्रचारबाजीलाई चिनियाँ कम्युनिस्ट पार्टीले गलत साबित गरिदिएको पनि प्रधानमन्त्रीको भनाइ थियो। उनले माक्र्सवादको सिर्जनात्मक प्रयोगमा चिनियाँ प्रयोग अब्बल रहेको बताए। अन्नपूर्ण पाेस्ट दैनिकले खबर छापेकाे छ ।