६ कार्तिक २०८३, शुक्रबार

प्रचण्डको फेरी समातेपछि अन्सारीलाई अवसरै अवसर !

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ असोज । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको फेरी समातेका कारण पर्साका रहबर अन्सारीले मात्रै अवसर पाएका छन् ।

प्रचण्ड र उनका परिवारसँग राम्रो सम्बन्ध बनाएका अन्सारीले तत्कालिन माओवादी केन्द्रदेखि, बाम गठबन्धनको चुनाव र हाल नेकपा भएपछि पार्टीको जिम्मेवारीमा पनि अरुलाई पछाडी पारी अघि बढेका हुन् ।

उनलाई शनिबार साँझ बसेको नेकपा सचिवालयको बैठकले वीरगञ्ज महानगरपालिकाको नेकपा अध्यक्षमा मनोनित गरिएको छ । प्रचण्डको प्रस्तावका आधारमा नै अन्सारी अध्यक्षमा मनोनित भएका हुन् ।

पर्सामा अस्पताल सञ्चालन गरिरहेका अन्सारी प्रचण्डनजिक रहेका कारणले स्थानीय तहको निर्वाचनका क्रममा वीरगञ्ज महानगरपालिकाको मेयर पदका उम्मेदवार बनेका थिए । जसमा उनी पराजित भए ।

तत्कालिन माओवादी केन्द्रले स्थानीय चुनावमा मौका पाएकालाई प्रतिनिधि र प्रदेश सभामा टिकट नदिने नीति बनाएको थियो । उक्त नीतिले सबैलाई बाँधे पनि अन्सारीलाई बाटो छेक्न सकेन । कारण थियो, प्रचण्ड परिवारसँगकै निकटता ।

उनी प्रदेश सभा निर्वाचनमा उम्मेदवार बनाइए । तर, निर्वाचनमा पराजित भए । अन्सारीलाई मात्र मौका दिने कामको पर्सा नेकपामा विरोध र विवाद पनि छ ।

‘नेताको नजिक हुनेले मात्र सबैतिर मौका पाउने हो भने नेकपाको कामका लागि हामी किन काम गर्ने ?’, एक कार्यकर्ता भन्छन्,‘जसको नेतासँग चिनजान छैन तर पार्टीका लागि जिम्मेवारपूर्ण हिसाबले काम गरिरहेको छ उसले मौका नपाउने ?’

नेकपाले ६ वटा महानगरपालिकाका अध्यक्ष र सचिवको टुंगो लगाएको थियो । महानगरको अध्यक्षको हैसियत जिल्ला कमिटी अध्यक्ष बराबरको हुने नीतिगत प्रस्ताव नेकपा सचिवालयले यसअघि नै पास गरिसकेको थियो ।