६ कार्तिक २०८३, शुक्रबार

गुन्डाको आयु प्रहरीको बन्दुकमा कैद !

2.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ असोज । हाल आपराधिक गतिविधिमा न्युनिकरण भएको, गुन्डाहरूको भागाभाग भएको भन्ने सन्तुष्टिमा छ, प्रहरी । नेपाल प्रहरीका महानिरिक्ष (आईजी) सर्वेन्द्र खनालले गुन्डागर्दी नियन्त्रणका लागि कडा आदेश जारी गरेका कारणले नै उनको कार्यकालमा फिरौति उठाउने, धम्क्याउनेलगायतको समूहको चलखेल कम छ तर शुन्य छैन ।

यद्यपि प्रहरीले चाहेको खण्डमा नेपालको हरेक ठाउँमा हुने गुन्डागर्दी नियन्त्रण गर्न सक्ने स्पष्ट चित्रचाहिँ देखिन्छ । यसका केही नमूना अघिल्लो बर्ष, त्यस अघि र हालसाल भएका कतिपय इन्काउन्टर, पक्राउ र गुन्डालाई जेलसम्मको यात्रा गराउनुले पनि देखिएको छ ।

एक प्रहरी अधिकारी भन्छन्,‘गुन्डाको आयु भनेको प्रहरीको बन्दुकभित्र कैद हुन्छ । उनीहरूको आयु गोलीमा सीमित छ ।’

ति अधिकारीको भनाईका केही प्रमाण आपराधिक गतिविधिमा सक्रिय भएका तर इन्काउन्टरमा मारिएका कतिपय कुख्यात गुन्डा नाइकेलाई हेरे पुग्छ । चरी उपनामले चिनिने दिनेश अधिकारी इन्काउन्टरमा मारिए । तत्कालिन नेकपा एमालेको धादिङ कमिटीमा नै रहेको तर गुन्डागर्दी र फिरौतीमा सक्रिय रहेका कारण उनी प्रहरी इन्काउन्टरमा मारिएका थिए ।

नेपाली कांग्रेससँग नजिक रहेका घैंटे उपनामले चिनिने कुमार श्रेष्ठ पनि इन्काउन्टरमा मारिए । काठमाडौंमा नै घैंटेसँग प्रहरीको इन्काउन्टर भयो । जसमा उसका समूहका केही व्यक्ति घाइते समेत भएका थिए ।

उनको इन्काउन्टरका विषयमा नेपाली कांग्रेस नुवकोटका सभापतिदेखि कांग्रेसका अन्य नेताले बारम्बार प्रश्न उठाएका थिए । तर, अपराधको सञ्जाल बलियो बनाएका घैंटेको आयु पनि प्रहरीको बन्दुकभित्र कैद थियो ।

‘राजनीतिक दबाब र आडमा गुन्डाले आपराधिक साम्राज्य चलाउने कोशीश गर्छन् । तर राजनीतिक दलले काम लागुन्जेल बोक्ने हुन् काम सकिएपछि तिनको दिनगन्ती सुरु हुन्छ’, इन्काउन्टरमा दख्खल राख्ने एक जना डिएसपी भन्छन्,‘अपराध गरेर प्रहरीलाई मात्र दुख दिने काम गरेपछि गुन्डा मारिन्छन् ।’

गुन्डा नियन्त्रणका लागि प्रहरीले योजनाका हिसाबले नै इन्काउन्टरको वातावरण तयार पनि पार्छन् । त्यसैले जुनसुकै इन्काउन्टर फेक भएको हल्ला र चर्चा स्वभाविक रूपमा हुन्छन् । तर कतिपय इन्काउन्टरलाई अस्वभाविक बनाउन प्रहरी सफल हुन्छ ।

पश्चिम नेपाल र सीमावर्ती क्षेत्रदेखि राजधानीमा समेत हत्याको योजना बनाउने मनोज पुनको इन्काउन्टरमा प्रहरी विवादमा तानिएन । बरु, स्याब्बासी पाएको थियो । युवा संघ नेपालका रुपन्देही अध्यक्ष दुर्गा तिवारीको हत्या गरी भारत भासिएको र काठमाडौंमा तत्कालिन निर्माण व्यावसायी महासंघका अध्यक्ष शरद गौचनको हत्या योजनामा सहभागी रहेका मगर प्रहरीको गोलीबाटै मारिए ।

कतिपय गुन्डा नाइकेमाथि इन्काउन्टरको योजना बनाए पनि परिस्थिति र समयले साथ नदिँदा तिनलाई पक्राउ गरी जेलयात्रामा पठाउनुपर्ने हुन्छ । त्यस मध्येका एक जना हुन् रमेश बाहुन उपनामले चिनिने सेनाका भगौडा सुजन पौडेल ।

हाल बन्दी जीवनमा रहेका पौडेललाई भारतबाट पक्राउ गरी ल्याए पनि कलंकीको खसी बजारमा पक्राउ गरिएको भनियो । प्रहरीले पौडेललाई पनि इन्काउन्टरको तयारी गरेको थियो । पौडेलले व्यापारी, व्यावसायी मात्र होइन राजनीतिक दलका नेतादेखि स्वयं गुन्डागर्दी गर्नेलाई नै धम्क्याएर फिरौति लिने, नदिए आक्रमणसम्म गर्दथे ।

‘समाजमा त्रासको वातावरण बनाउनका लागि आपराधिक काम गर्ने र त्यसैको नाफा लिन फिरौती, चन्दा उठाउने देखि हरेक काममा कमिशन, प्रतिशत माग्ने प्रचलन बढ्यो’, एक अधिकारी भन्छन्,‘गुन्डागर्दी मौलाउने कारण यसलाई देखियो, गुन्डागर्दीमा लागेका व्यक्तिको सम्पत्ति अस्वभाविक हिसाबले बढ्नुको कारण पनि यहि हो ।’

राजनीतिक दलसँग पहुँच राख्ने, नेतासँग साँठगाँठ हुने र कतिपय प्रहरी अधिकारीसँग पनि सूचना लिने गरेका गुन्डा नाइके भाग्न समेत सफल हुन्छन् ।

राजनीतिक दलका विभिन्न कमिटीमा रहेका तर अपराधको चरण अति बनाएपछि इन्काउन्टरमा मारिएका केही गुन्डा नाइके पनि छन् । कतिपय भने रणनीतिक हिसाबले बाँचेका तर जेलमा बसेरै पनि अपराधको सञ्जाल चलाइरहेका तथ्य सतहमा आएकै छन् ।

त्यस मध्ये अहिले चर्चामा रहेका गुन्डानाइके समिरमान बस्नेत हुन् । गौचन हत्याकाण्डलाई अन्तिम रुप दिने बस्नेतको योजनाको पर्दाफास महानगरीय अपराध महाशाखाले गरेको थियो । उनी मात्र होइन, उक्त समूहका अन्य सदस्य समेत पक्राउ गरी बयानका आधारमा बस्नेतपत्नी माया शेरचनको संलग्नता पनि पुष्टि भएको थियो ।

बस्नेत पछिल्लो पटक मिडियाको नजरमा पर्नुको कारण हो, गृहमन्त्री रामबहादुर थापाका भाई नरेश थापालाई केन्द्रीय अनुसन्धान व्युरो (सीआइबी)ले पक्राउ गर्नु । बस्नेतसँग उनको नाम जोडिएको थियो ।

सुरक्षा स्रोतका अनुसार बस्नेतको अपराध कर्मको अन्त्य गर्नका लागि प्रहरीले जेल सार्ने योजना बनाएको थियो । तर अदालतले त्यसमा रोक्यो । जेलभित्रैबाट अपराधको सञ्जाल बलियो बनाउन थालेपछि बस्नेतको जेल सरुवा गरी इन्काउन्टर नै गर्न खोजिएको आफन्तले आरोप नै लगाएका थिए । हुनसक्छ, प्रहरी बस्नेतलाई इन्काउन्टर गरी अपराध शून्यनजिक पुराउन चहान्थ्यो !