६ कार्तिक २०८३, शुक्रबार

गोलघर भित्रको गुन्डा :१८ बर्षमा बनेको साम्राज्यको ‘कनेक्शन’ गृहसम्म !

1.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३१ भदौ । ‘एकाध बर्ष जेल पनि बसौं, एउटा साम्राज्य त्यहाँ बनाउँला । बाहिरको चलि नै रहन्छ’, केन्द्रीय कारागार गोलघरमा रहेको गुन्डानाइके समिरमान बस्नेतले उनलाई भेट्न जानेहरूसँग भन्छन्,‘बाहिर निस्किएपछि भित्र छिराउनेहरूको निगरानी हुनेछ ।’

०५८ सालमा त्यसबेला चलेका गुन्डा नाइकेको पछि लाग्दा लाग्दै अघि निस्किएका ‘अपराधी’ हुन् बस्नेत । प्रहरीले बस्नेतको इन्काउन्टर गरी अपराधलाई मत्थर बनाउने कोशीश गरेको थियो । तर, प्रहरीमै सुराक राख्न सफल बस्नेतमाथि इन्काउन्टरको मौका मिलेन, उनी पक्राउ गरिए र जेल पठाइए ।

बस्नेतको पहुँच प्रहरीमा मात्र होइन, प्रहरी संयन्त्र नै चलाइरहेका गृहमन्त्रीसम्म रहेको खुलेपछि १८ बर्षमा खडा गरेको साम्राज्यको कनेक्शन पत्ता लाग्यो । प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी)ले जब गृहमन्त्री रामबहादुर थापाका साइँला भाई नरेशकुमार थापालाई बस्नेतसँग भएका अनेक कनेक्शनका प्रमाणका आधार फेला पार्यो, थापा गिरफ्तारीमा परे । उनीमाथि अनुसन्धान जारी छ ।

बस्नेत तत्कालिन निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्या योजनाका मुख्य अभियुक्त हुन् । योजनाकारको हिसाबमा नै उनीमाथि मुद्दा लगाएर पूर्पक्षका लागि थुनामा राखिएको हो ।

यसबाहेक काठमाडौं र आसपासका क्षेत्रमा हुने फिरौती र गुन्डागर्दी, आपराधिक गतिविधिमा बस्नेतको संलग्नता प्रत्यक्ष र परोक्ष रूपमा खुल्न थालेको छ । प्रहरीले यसको मेसो पाएरै बस्नेतलाई मनाङ कारागारमा पठाउने तयारी गरेको थियो । त्यसो हुँदा मनाङ कारागारबाट बस्नेतको सहज पहुँच कुनै पनि शक्ति केन्द्र वा समूहसँग नहुने प्रहरीको विश्वास थियो ।

अपराध अनुसन्धानमा दख्खल राख्ने एक अधिकारी भन्छन्,‘प्रहरीको यो तयारीलाई अदालतले रोकेको थियो । अदालतको आदेश मान्नु प्रहरीको कर्तव्य नै हुन्छ ।’

प्रहरीले त कतिसम्म खुलायो भने बस्नेतको अपराध कर्ममा उनकी पत्नी माया शेरचनको पनि संलग्नता थियो । मायाले पनि बस्नेतको योजनालाई साकार बनाउनका निम्ति हतियार दिने र लुकाउने गरेको गौचन हत्यामा संलग्नहरूको बयानबाट खुलेकै थियो ।

बस्नेतको गुन्डागर्दीको उडानचाहिँ पहिलो पटक पक्राउ परेपछि सुरु भएको कतिपय अधिकारीले बताएका छन् । काठमाडौं गोलढुंगाका स्थानीय उनी बाफल सरेपछि र कलेज भर्ना भएपछि आपराधिक गतिविधिमा संलग्न भएका समूहसँग जोडिन थाले ।

यो क्रम ०५८ बाट भएको थियो तर बस्नेत पहिलो पटक भने २०६० मा तत्कालिन लैनचौर प्रभागका ईन्सपेक्टर तथा हाल काठमाडौं परिसरमा कार्यरत एसपी अशोक सिंहले ठमेलको ज्याठाबाट धारिलो हतियारसहित पक्राउ परे ।

प्रहरी अधिकारीका अनुसार त्यसबेला चर्चामा रहेका काजी शेर्पासहित अन्य चार जनालाई मारुती कारबाट आधा दर्जन खुकुरीसहित पक्राउ गरेका थिए  । त्यही समूहमा बस्नेत थिए । जो सार्वजनिम मुद्दा छिचोलेर निस्र्कि पनि ।

शेर्पासँगको सहयात्रमा बस्नेतको भेट त्यस ताकाका कहलिएका गुण्डा नाईके कुमार श्रेष्ठ उर्फ घैटेसँग भयो । घैंटेसँगको घनिष्ठता यति भयो की दुवैले मित लगाए । यो मितेरी साइनोले अपराधको दुनियाँमा उडान लियो । अन्य विविध समूहभन्दा यो समूहको आपराधिक गतिविधि, फिरौती उठाउने, हप्ता असुली र विभिन्न कन्ट्रक्सनसँग कमिशन असुल्ने रफ्तार बढ्यो । २०६२–२०६४ सम्म राजधानीमा गुन्डागर्दीमा यो समूह ‘नामी’ भयो ।

त्यहिताका घैंट प्रहरी ईन्काउन्टरमा मारिएपछि ज्यान जोगाउनका लागि बस्नेत फरार भएर भारत पुगे । त्यसबेला यहि समूहका साजन गुरुङ र अर्का डन साजन महर्जन पक्राउ गरिएपछि बस्नेत बाँच्ने चान्स थिएन, उनी उम्किए ।

बस्नेत भारतको गोवामा लुकेका थिए । गुन्डागर्दीमा लागेका कारण उनले मनोज पुनको नाम सुनेका थिए । जो तत्कालिन युवा संघ दुर्गा तिवारी हत्या गरेको अभियोगमा भारतमा थिए । दुवैको संयोगको भेटले नयाँ आपराधिक यात्रा सुरु हुने निश्चिजस्तै भएको अनुसन्धानहरूमा खुलेको छ ।

पुन बुटवलमा आधादर्जन अपराध गरी फरार भएका अर्का गुण्डा थिए  । यी दुईको भेट, परिचय र घनिष्ठतामात्र भएन । अपराधमा आतंक मच्चाउने योजना बन्यो । अर्थात्– शरद गौचनको हत्या । गौचनसँग भारतबाटै यी दुवैले बार्गेनिङ गरेका थिए । हुलाकी राजमार्गको टेण्डरको कमिशनमा विवाद भएपछि गौचनको हत्या भएको थियो  ।

गौचनको हत्या पश्चात भारतमा लुकेर बसेका समिरमान बस्नेतलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी)ले दुई बर्ष अगाडि पक्राउ गरी ल्याएको थियो  ।

बस्नेतको पक्राउसँगै अन्य फरार उनका सुटरहरू अम्बरबहादुर राना, रोशन बुढाथोकी र लोप्साङ भनिने सोम तामाङ लगायत आधा दर्जन पक्राउ परिसकेका छन्  । हाल सबै जना मुद्दा पुर्पक्षको लागि थुनामा छन्  । प्रहरीका अनुसार हत्या र असुलीका मास्टर माइन्ड बस्नेतले साजन, कारजोन र युबराज गुरुङ उर्फ सानो भाईको छुट्टै समूह बनाएका थिए भने राना, तामाङ र बुढाथोकीलाई अर्को समूहमा राखेर अपराधको साम्राज्य खडा गरेका थिए  ।

त्यस्तै, रमेश बाहुन समूहमा रहेका बोका भन्ने गंगा लिङ्देन र अजय थापालाई पनि बस्नेतले छुट्टै प्रयोग गर्दै आइरहेका छन्  । प्रहरीलाई समेत आक्रमण गर्ने योजना बनाउने बस्नेतको गिरोहले मनोज पुनको नाम भजाएर आफूलाई सुरक्षित राख्न खोजेको पनि थियो  । तर, अनुसन्धानका क्रममा मनोज पुन र बस्नेत मिलेर हत्या योजना र फिरौती असुलीमा सँगै संलग्न रहेको खुलिसकेको छ  ।