काठमाडौं, ३० भदाै । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई) मा सैन्य गठबन्धनको गन्ध नभएको स्पष्ट पारेका छन् । राजधानी दैनिकले खबर छापेकाे छ ।
उनले बीआरआई नेपालको हितमा रहेको दाबीसमेत गरेका छन् । नेपाल बुद्धिजीवी संगठनले आइतबार काठमाडौंमा आयोजना गरेको ‘बीआरआई संवाद विचार गोष्ठी’लाई सम्बोधन गर्दै अध्यक्ष दाहालले बीआरआईले कुनै सैन्य गठबन्धनको गन्ध नदिएको बताएका हुन् । उनले बीआरआई परियोजनाको लक्ष्य विश्वशान्ति, मानवजातिको समृद्धि र हारमोनिकल सोसाइटी बनाउने रहेको औंल्याए ।
‘बीआरआईले कुनै सैन्य गठबन्धनको गन्ध दिएको छैन । यसले सामूहिक ढंगले शान्ति, विकास, समृद्धि र सोसियल हारमोनीको पक्षमा अपिल गरेको छ । त्यसकारण यो सबैको लागि सहज र स्वीकार्य हुन पुगेको छ,’ दाहालले भने, ‘यसबाट हामीले धेरै लाभ लिन सकिन्छ । बीआरआईको उद्देश्य विश्वशान्ति, मानवजातिको समृद्धि र हारमोनिकल सोसाइटी बनाउने परिकल्पना गरेको छ ।’
अध्यक्ष दाहालले दुई तिहाइ जनसंख्याले बीआरआईलाई सकारात्मक लिनु पछाडिका कारण यसले सुपर पावर बन्नका लागि कुनै सैन्य गठबन्धनको कुरा नगरेको बताएका छन् । ‘यसले कुनै सुपर पावर बन्नका लागि सैन्य गठबन्धनको कुरा गरेको छैन । यसले सामूहिक धारणा र कलेक्टिभ एफोर्टको कुरा गरेको छ ।
हारमोनियस सोसाइटीको कुरा गरेको छ । त्यसकारण यो सबैलाई मान्य भएको छ’, दाहालले भने, ‘हाम्रो लागि बीआरआई आवश्यक छ । किनभने यसले रोड कनेक्टिभिटीको मात्र कुरा हैन, रेल, पाइपलाइन, कम्युनिकेसन कनेक्टिभिटी र संरचनागत कनेक्टिभिटीलगायत विशाल परियोजनामा समेट्न खोजिएको छ ।’
दाहालले बीआरआईलाई अगाडि बढाउन केही ढिला भएको स्विकार्दै अब सही समय आएको बताएका छन् । ‘बीआरआईका प्रोजेक्ट छनोट गर्ने कुरामा र यसलाई अगाडि बढाउन भित्रबाट गृहकार्य गर्न केही ढिला भयो । तर, अब यसलाई गति दिने समय आएको छ,’ उनले भने, ‘राष्ट्रिय हितलाई प्रवद्र्धन गर्नका लागि सबै एकजुट भएर अगाडि बढ्न आग्रह गर्दछु ।’
कार्यक्रममा दाहालले निकट भविष्यमा हुन सक्ने चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणको बीचमा बीआरआईको विषयमा बहस सुरु हुनु सकारात्मक भएको समेत बताएका छन् ।
मानिसहरू अलि बढी सेन्टिमेन्ट, भावनामा वा उत्तेजनामा आउने र समाजलाई त्यस हिसाबले प्रभावित पार्ने प्रवृत्ति देखिएको बताउँदै उनले समाजमा धेरै नकारात्मक सोचहरू बढ्ने खतरा रहेको बताए ।















प्रतिक्रिया