६ कार्तिक २०८३, शुक्रबार

तलबमा प्यानको झमेला

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विराटनगर, ३० भदाै । मोरङ–सुनसरी औद्योगिक क्षेत्रका मजदुरले पारिश्रमिक नपाएको दुई महिना भयो। उनीहरूलाई उद्योग सञ्चालकले पेस्की खर्च मात्रै दिएका छन्। पारिश्रमिकका लागि अनिवार्य स्थायी लेखा नम्बर (प्यान) चाहिन्छ। अन्नपूर्ण पाेस्ट दैनिकले खबर छापेकाे छ ।

प्यान नहुँदा पारिश्रमिक दिन समस्या भएको मुरारका इन्डस्ट्रिजका निर्देशक प्रदीप मुरारका बताउँछन्। यस क्षेत्रका ६ सयभन्दा बढी उद्योगमा ८० प्रतिशत कामदार भारतीय छन्।

‘नेपाली कामदार मगाउँदा आउँदैनन्। भारतीयका भरमा उद्योग चलाउनुपर्ने बाध्यता छ’, उद्योग संगठन मोरङका उपाध्यक्षसमेत रहेका मुरारका भन्छन्, ‘उनीहरूसँग प्यान छैन। त्योबिना पैसा दिए गैरकानुनी देख्छ सरकारले।’

मजदुरको अवस्था नबुझी सरकारले नयाँ व्यवस्था गरेको उनको गुनासो छ। यसले नेपाली कामदारसमेत समस्यामा परेको उनी बताउँछन्।

‘प्यान लिनु, बैंकमा खाता खेल्नु भन्दा नेपाली कामदार कामै छाड्छन्’, उनी भन्छन्, ‘दक्ष नेपाली बिदेसिएका छन्। बाँकी रहेकाहरू दिनभर काम गरेर बेलुका पारिश्रमिक खोज्ने छन्। उनीहरू महिना पर्खिन, प्यान र बैंक प्रणालीबाट पारिश्रमिक लिन मान्दैनन्।’

भारतीयले महिनामा पारिश्रमिक लिने गरेका छन्। प्यान नहुँदा दुई महिनादेखि पेस्की भन्दै दिने गरिएको उनको भनाइ छ। सरकारले अर्को निर्णय गरे मात्रै पारिश्रमिक भनेर दिइने उनी बताउँछन्।

सरकारले बनाएको अध्ययन कार्यदलले प्रतिवेदन नबुझाएकाले झनै समस्या भएको उद्योगी÷व्यवसायी बताउँछन्। उद्योगको बाध्यता सरकारले नबुझेको विराटनगरका मुद्रण व्यवसायी लव घिमिरे बताउँछन्।

उनका अनुसार मजदुर अभावले भारतीय कामदारको भर छ। दिनभर काम गरी बेलुकाको छाक टार्ने मजदुर धेरै रहेको उनको भनाइ छ।