१२ मंसिर २०८३, शनिबार

मलेसियामा जाने कामदारलाई श्रम स्वीकृति दिन सुरु

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ भदौ । मलेसियामा जाने कामदारलाई श्रम स्वीकृति दिन सुरु गरिएको छ ।

नेपाल र मलेसियाको श्रम मन्त्रालयका सहसचिवस्तरीय प्राविधिक समितिमा भएको सहमतिअनुसार १५ महिनादेखि बन्द मलेसियाको रोजगारी खुला आइतबारबाट खुला भएको मन्त्रालयले जनाएको छ ।

अब नेपालबाट नयाँ कामदार शून्य लागतमा मलेसिया जान पाउनेछन् । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव एवम् प्रवक्ता रामप्रसाद घिमिरेका अनुसार अब कामदार मलेसिया जाने प्रक्रियाको सबै खर्च रोजगारदाता कम्पनीले बेहोर्नेछ । मेडिकलमा भएको खर्च पनि पहिलो महिनाको तलब दिने समयमा रिफन्ड गर्ने छ ।

मलेसियाका रोजगारी खुलाउने निर्णय गरेर टोली फर्किएसँगै दुई देशबीच ११ कात्तिकमा भएको श्रम समझदारी कार्यान्वयनमा आएको हो ।मलेसियसँग सेक्युरेटी गार्डको हकमा पनि त्यही समझदारी लागू हुनेछ । तत्कालका लागि ३६ वटा पुरानै संस्थामार्फत नै मेडिकल गरेर कामदार लैजान सुरु गरिने प्रवक्ता घिमिरेले जानकारी दिए ।

नेपाल सरकारले मलेसिया खुलाउने गरी नयाँ कामदारको स्वास्थ्य जाँच गर्ने १२२ वटा स्वास्थ्य संस्थाहरु सूचीकरण गरेको छ । बाँकी ८६ संस्थामा मलेसियाले अनुगमन गरेर आगामी नोभेम्बरबाट नयाँलाई स्वीकृति प्रदान गर्न सुरु गर्नेछ ।

प्रवक्ता घिमिरेका अनुसार नेपाल सरकार र मलेसिया सरकारबीच २०७५ कार्तिक १२ गते सम्पन्न भएको श्रम समझदारीअन्तर्गत स्थापित संयुक्त कार्य समूहको दोश्रो बैठक भदाै २४ र २५ गते मलेसियाको पुत्रजयामा सम्पन्न बसेको थियो ।

बैठकबाट गत वर्ष हस्ताक्षरित श्रम समझदारी कार्यान्वयनका सन्दर्भमा टुंगो लाग्न बाँकी विषयमा छलफल गरी समझदारी कार्यान्वयनलाई औपचारिक रुपमा अगाडि बढाउन सहमति भएको हो ।

मलेसिया जाने कामदारमाथि विभिन्न बहानामा थप शुल्क लगाएर ठगी गरेको भन्दै सरकारले २०७५ को जेठ १२ गतेबाट मलेसियाका लागि श्रम स्वीकृति दिन रोकेको थियो ।

अब मलेसियाले प्रत्याभूत गरेका सेवा सुविधा शर्तहरु पालना गरेर मागपत्र ल्याउने कम्पनीहरुले नेपाली कामदार मलेसियमा पठाउन सक्नेछन् ।

‘समझदारी पत्र अनुसार मलेसिया कामदार पठाउँदा लाग्ने सेवा शुल्क , आतेजाते हवाइ टिकट, भिसा शुल्क, स्वास्थ्य परीक्षण शुल्क, सुरक्षा जाँच शुल्क लगायतका खर्चहरु सम्बन्धित रोजगारदाताले नै व्यहोर्नु पर्नेछ’, मन्त्रालयद्वारा आइतबार जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

विगतमा नेपाली कामदारलाइ लाग्दै आएको लेभी समझदारी पश्चात नलाग्ने भएको छ ।यस्तै,  करार अवधि ३ वर्ष रहदै आएकोमा २ वर्ष कायम भएको छ । कामदारको पारिश्रमिक प्रत्येक महिनाको ७ गते भित्र वैङ्क खाता मार्फत भुक्तानी गर्नु पर्ने र मलेसिया सरकारले तोकेको न्यूनतम पारिश्रमिक भन्दा कम नहुने गरी तलब, भत्ता एवं सुविधा पाउने सुनिश्चितता भएको छ । अतिरिक्त समयमा काम गरेवापत थप पारिश्रमिक एवं सेवा सुविधा प्राप्त हुनेछ ।

समझदारी पत्र अनुसार रोजगारदाताले कामदारका लागि उचित कार्यवातावरण र वासस्थानको साथै व्यवसायजन्य स्वास्थ्य तथा सुरक्षाको समेत प्रवन्ध गर्नुपर्नेछ । नेपाली कामदार मलेसियाको विमानस्थलमा पुगेको ६ घण्टाभित्र गन्तव्य स्थलमा लैजानु पर्नेछ । यसो हुन नसकेमा उक्त सन्दर्भमा श्रमिकले गर्नुपरेको खर्च रोजगारदाताले नै वहन गर्नुपर्ने व्यवस्था गरिएको छ ।

महिला कामदारको सम्बन्धमा विशेष ध्यान दिंदै थप सुरक्षा, संरक्षण र रेखदेख गर्नुपर्नेछ । त्यसैगरी कामदार र रोजगारदाताबीच श्रम सम्बन्धी कुनै विषयमा विवाद उत्पन्न भै मुद्दा विचाराधीन रहेसम्मको लागि मलेसिया बस्न पाउने मन्त्रालयका प्रवक्ता घिमिरले बताए ।

उनका अनुसार  मलेसियामा कार्यरत नेपाली श्रमिकले आफ्नो परिवारको निकटतम सदस्य (बाबु, आमा, श्रीमान् वा श्रीमती, छोरा वा छोरी) को मृत्यु भएमा बढीमा १५ दिनका लागि स्वदेश आउन पाउने छन् । कार्यस्थलमा हुने कामदारको दुर्घटना बीमा र स्वास्थ्य बीमालाई मलेसियाको कानुनले कामदारका सन्दर्भमा लागू गरेको व्यवस्था नेपाली कामदारको हकमा पनि लागू हुनेछ ।

भविष्यमा मलेसिया सरकारले बीमा सम्वन्धी नयाँ योजना लागू गरेमा नेपाली कामदारलाई समेत लागू हुनेछ । वैदेशिक रोजगारीमा क्रममा कामदारको अंगभंग वा मृत्यु भएमा रोजगारदाताले नेपाली राजदूतावासलाई जानकारी गराउनुपर्ने छ । कामदारको मृत्यु भएमा शव नेपाल पठाउने जिम्मेवारी सम्बन्धित रोजगारदाताको हुनेछ ।

समझदारीपत्र अनुसार नेपाली कामदारलाई मलेसियाको श्रम कानून बमोजिम समान तहमा काम गर्ने अन्य विदेशी कामदारलाई दिइए सरहको संरक्षण प्रदान गर्ने व्यवस्था गरिएको छ । दुवै देशका सरकारले आ-आफ्नो देशमा कामदार, रोजगारदाता र श्रमिक आपूर्तिकर्ताको कार्यको अनुगमन एवं नियमन गरी थप व्यवस्थित गर्नु पर्नेछ ।

रोजगारदाता कम्पनी विघटन भएमा वा रोजगारदाताले कामदारलाई दुर्व्यवहार गरेमा वा कुनै प्रकारको शारीरिक वा मानसिक हिंसा गरेमा वा रोजगारदाताले पुरा गर्नुपर्ने दायित्व पुरा नगरेमा कामदारले अर्को काम खोज्न पाउने अधिकार सुनिश्चित गरिएको छ । सम्झौता अवधि समाप्त भएपछि कामदारले रोजगारदाता छनौट गर्न सक्ने प्रावधान छ ।

करार अवधि पश्चात कामदार नेपाल फर्कन पाउने र सो को लागि रोजगारदाताले हवाई टिकट उपलब्ध गराउनु पर्नेछ । नेपाली कामदारहरुले आफ्नो राहदानी लगायत आफ्ना निजी कागजात आफैसँग राख्न पाउने अधिकार सुनिश्चित गरिएको छ ।