बिहीबार, २ असोज २०७६
DainikNepal.com
बिहीबार, २ असोज २०७६

भिडियो कन्फ्रेन्समार्फत भारतीय प्रधानमन्त्री मोदीले भने– म चाँडै नेपाल आउने प्रयत्न गर्छु

दैनिक नेपाल २०७६ भदौ २४ गते १२:४७

काठमाडौं, २४ भदौ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफू चाँडै नै नेपाल भ्रमणमा आउने प्रयत्नमा लागेको बताएका छन् ।

नेपाल–भारत पेट्रोलियम पाइपलाइनको संयुक्त उद्घाटनका क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीसँग भिडियो कन्फ्रेन्समा उपस्थित भएका मोदीले भने,‘मलाई त्यहाँ (नेपाल) प्रकृतिको कोखमा आउने रहर छ । तपाई (प्रधानमन्त्री ओली)को निम्तो ग्रहण गरेको छु । म चाँडै आउने प्रयास गर्नेछु ।’

नेपाल–भारतबीच भएका कतिपय सहमतिलाई यसरी नै कार्यान्वयन गर्दै जानेमा आफू सक्रिय रहने बताएका उनले पेट्रोलियम पाइपलाइनको विस्तार र कार्यान्वयन एउटा अभूतपूर्व सफलता भएको बताए ।

उनले प्रधानमन्त्री ओली स्वास्थ्यको प्रतिकूलतामा पनि सक्रियताका साथ काम गरिरहेको बताउँदै स्वास्थ्य अवस्था सुधारको कामनासहित सक्रियता कामय राख्न पनि शुभेच्छा दिए ।

त्यसअघि नेपाल–भारत सम्बन्ध र विकासका परियोजनाको सहकार्य अझ प्रभावकारी बन्दै जाने बताउँदै प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो दिएका थिए ।

मंगलबारबाट भारतदेखि नेपालको अमलेखगञ्ज डिपोसम्मको पेट्रोलियम पाइपलाइन सञ्चालनमा आएको छ । दैनिक २० घन्टा तेल आउने छ । दुवै प्रधानमन्त्रीले पाइपलाइनको संयुक्त रुपमा स्वीच थिचेर उद्घाटन गरेका पनि गरेका छन् ।

उक्त पेट्रोलियम भण्डारणका लागि अमलेखगञ्ज डिपोमा चार वटा ठूला ट्यांकी राखिएका छन् ।

प्रतिक्रिया
सम्बन्धित