बिहीबार, २ असोज २०७६
DainikNepal.com
बिहीबार, २ असोज २०७६

संघीय सदनमा उठ्यो एसीड आक्रमण गर्नेलाई मृत्युदण्डको माग

दैनिक नेपाल २०७६ भदौ २२ गते १५:४२

काठमाडौं, २२ भदौ । संघीय सदनको प्रतिनिधि सभा बैठकमा वीरगञ्जमा १५ बर्षिय किशोरीमाथि एसीड आक्रमण गर्नेलाई मृत्युदण्डको सजाय माग भएको छ । कानुन परिमार्जनका लागि सांसदले माग राखेका हुन् ।

मुस्कान खातुनमाथिको एसिड आक्रमणपछि प्रतिनिधि सभाको आइतबारको बैठकमा सत्तापक्ष र प्रतिपक्ष दुवैतिरका सांसदहरुले एसिड आक्रमण गर्ने माथिको कारबाहीको कानुन नै कमजोर भएको बताए । यतिमात्र होइन, एसीड विक्रि वितरणमा पनि कडा कानुनी प्रावधानको माग गरिएको छ ।

कांग्रेस सांसद उमा अधिकारीले संसारका अन्य मुलुकमा जस्तै नेपालमा पनि मृत्युदण्डको व्यवस्था हुनुपर्ने माग गरिन् । फितलो कानुनका कारण अपराधी छुटीरहेको बताउँदै उनले त्यस्तो माग गरेकी हुन् ।

समाजवादी पार्टीका सांसद प्रदीप यादवले एसिड आक्रमणका दोषीलाई जन्मकैद वा फाँसीको सजाय दिनुपर्ने बताए ।

सांसद पुष्पाकुमारी कर्ण कायस्थले कहिलेसम्म बालिकाले असुरक्षित जीवन जीउन बाध्य हुने भन्दै कानुन संसोधन गरेर भए पनि एसिड आक्रमण गर्ने अभियुक्तलाई मृत्युदण्ड दिन माग गरिन् ।

अन्य सांसदले पनि यस प्रकरणका दोषीलाई कडा भन्दा कडा सजायको माग गरेका थिए ।

शुक्रबार बिहान विद्यालय जादै गर्दा वीरगञ्ज छपकैयाकी मुस्कान खातुनमाथि एसिड आक्रमण भएको थियो । उनको अहिले काठमाडौको कीर्तिपुर अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित