१५ कार्तिक २०८३, आइतबार

आठ हजार मिटर भन्दा बढि उचाईका ११ हिमालको आरोहण गरेका निर्मललाई सशस्त्रको सम्मान

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १८ भदौ ।  सर्वोच्च शिखर सगरमाथासहित विश्वमा रहेका आठ हजार मिटर भन्दा बढि उचाईका १४ वटा हिमालमध्ये ११ वटा हिमालहरुको तीन महिनाभित्र सफल आरोहण गरिसकेका निर्मल पुर्जा ‘निम्स’लाई सशस्त्र प्रहरी बल, नेपालले सम्मान गरेको छ ।

सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले बुधबार सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयमा आयोजित विशेष समारोहमा उनलाई दोसल्ला ओढाई सम्मान गरे ।

हिमाल आरोही निम्सले सात महिनाभित्र उल्लेखित १४ वटै हिमालहरुको सफल आरोहण गर्ने लक्ष्य लिएकोमा अब बाँकी रहेका तीन वटा हिमालहरुको आरोहण पुरा गर्ने लक्ष्य रहेको तथा आफु पूर्व ब्रिटिस गोर्खा सैनिक भएको कुरा उक्त विशेष समारोहमा जानकारी गराएका थिए ।

सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले त्यसअवसरमा हिमाल आरोहणको क्षेत्रबाट देशको नाम विश्वमा फैलाउन सफल रहेको भन्दै हिमाल आरोही निम्सको साहस तथा लगन र योगदानको मुग्दकण्ठले प्रशंसा गरे ।

विश्व किर्तिमानी हिमाल आरोही निर्मल पुर्जा ‘निम्स’ले उक्त विशेष समारोहमा विभिन्न हिमाल चढ्दाको आफ्नो गर्विलो अनुभव सुनाए । हिमाल आरोहणका कुरा गर्दा भावनात्मक रुपमा के भयो र के–के त्याग गरियो भन्ने कुरा आफ्नो स्मरणमा रहेको उल्लेख गर्दै उनले आफुले आफ्ना लागि नभई नेपाल र नेपालीको गौरवको लागि उक्त प्रयास गरेको बताए ।

म्याग्दी जिल्लामा जन्मिएका मेम्बर अफ ब्रिटिस इम्पायर (एम बी ई)बाट सुशोभित पूर्व ब्रिटिस गोर्खा सैनिक निर्मल पुर्जा ‘निम्स’ले आफु रोयल नेभीमा स्पेशल फोर्समा समेत कार्यरत रहेको विगत सो समारोहमा बताए । हिमाल आरोहणका लागि उक्त जागिर परित्याग गर्दै १२ दिनमा आठ हजार मिटर भन्दा अग्ला पाँचवटा हिमालहरुको सफल आरोहण गरेको अनुभव उनिसंग छ ।

उनले दुई दिन ३० मिनेटमा सगरमाथा, लोत्से र मकालु हिमालको सफल आरोहण गर्दै पुरानो गिनीज बुक अफ दी वल्र्ड रेकर्डमा रहेको ५ दिन ३ घण्टा ३५ मिनेटको पुरानो रेकर्ड तोड्न सफल भएको कुरा त्यसअवसरमा जानकारी गराए ।