६ कार्तिक २०८३, शुक्रबार

एटीएम ह्याकिङ प्रकरणमा तीन नेपाली पक्राउ

2.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १६ भदौ ।  चिनियाँ ह्याकर समूहले बोकेको डलर साट्ने कार्यमा संलग्न मनि एक्सेन्जका ३ नेपालीलाई प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंका डीएसपी होविन्द्र बोगटीले उनीहरुलाई आज दिउँसो ठमेलबाट पक्राउ गरिएको पुष्टि गरेका छन् ।

पक्राउ पर्नेहरुमा डेक्सो मनी एक्सेन्जका सञ्चालक देवनाथ लामिछाने, नेपाललय मनि एक्सेन्जका रोशन प्रधान श्रेष्ठ र म्यानेजर रेवती दुवाडी रहेका छन् । प्रहरीका अनुसार उनीहरुले फरार रहेका चिनियाँ नागरिकको पैसा साटेका हुन् ।

उनीहरुले २९ लाख ९९ हजार रुपैयाँबराबर अमेरिकी डलर साटेका थिए ।

शनिबार पक्राउ परेका पाँच जना चिनियाँ नागरिकको बयानका आधारमा एटीएमबाट पैसा चोरेर भाग्दै गर्दा आइतबार साँझ एकजना चिनियाँ नागरिक त्रिभुवन विमानस्थलबाट पक्राउ परेका थिए । अन्य दुई जना भने फरार छन् ।

उनीहरुले २५ हजार ८ सय डलर डेक्सो मनि एक्सेन्च र नेपाललय एक्सेन्जबाट साटेको खुल्न आएको थियो । डीएसपी बोगटीले घटनाबारे थाहा हुँदाहुँदै पनि उनीहरुले पैसा साटेर चिनियाँ नागरिकलाई भगाएको पाइएको दावी गरे ।

अनुसन्धान अधिकारीहरुका अनुसार शनिबार बिहानदेखि एटीएमबाट पैसा निकाल्न थालेका चार जना चिनियाँले आलोपालो गरी ठमेलका यी दुई मनि चेञ्जरमा पुगेर पैसा साटिरहेको क्लोज सर्किट क्यामेरामा भेटिएको छ ।

प्रहरीले दुवै मनि चेञ्जरका सीसीटीभी फुटेज समेत लिएर अनुसन्धान गरिरहेको छ ।  शनिबार राति भएको एटीएम ह्याक घटनाबारे प्रहरीले अनुसन्धान जारी राखेको छ। सोही क्रममा थप विवरण सार्वजनिक भएको हो ।

परिसरबाट अनुसन्धानको नेतृत्व गरिरहेका डीएसपी बोगटीले मनि चेञ्जरबाट लुटिएको रकम बरामद भएको बताए । उनले दुवै मनि चेञ्जरले गैरकानुनी रुपमा नेपाली रुपैयाँ सटही गरेकाले सोही कसुरअनुसार मुद्दा अघि बढने बताए ।

यसरी पैसा साट्नु गैरकानुनी भएको प्रहरीको भनाई छ । चिनियाँ नागरिकले साटेको २९ लाख ९९ हजार समेत प्रहरीले बरामद गरेको छ ।

हालसम्म विभिन्न बैंकको एटीएम सिस्टम ह्याक गरी पैसा चोरी गर्ने ९ जना पक्राउ परेका छन् । उनीहरुबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीले पाँच जना चिनियाँ नागरिक र एक फ्रान्सेली नागरिकलाई पक्राउ गरेको छ । अनुसन्धान अधिकारीहरुका अनुसार सोमबार अपराह्नसम्मको अनुसन्धानमा घटनामा आठ जना विदेशी नागरिकको संलग्नता पुष्टि भएको छ ।