
काठमाडौँ, १६ भदौ । सिंगापुरमा उपचारत प्रधानमन्त्री केपी शर्मा ओली आउँदो २० गते स्वदेश फर्कने भएका छन् । प्रधानमन्त्री ओलीले नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङसँग आततबार साँझ भएको टेलिफोन कुराकानीमा २० गते फर्कने जानकारी दिएका हुन् ।
ओलीले आफू ठीकठाक रहेको पनि बताएका छन् । भदौ ५ गते स्वास्थ्य उपचारका लागि सिंगापुर पुगेका ओलीको प्लाज्मा फेरेसिस प्रक्रियाबाट एण्टीबडीको मात्रा घटाउन उपचार भइरहेको छ । ओलीले संसदीय काम कारवाही र विधेयकहरुको विषयमा जानकारी लिन नेम्वाङलाई फोन गरेका थिए ।
आफू र प्रधानमन्त्रीबीच संसदीय काम कारवाहीकै बारेमा बढी कुराकानी भएको नेम्वाङले बताए । प्रधानमन्त्री ओलीले संक्रमणकालीन न्यायसम्बन्धी विधेयकबारे जिज्ञासासमेत राखेको पनि नेम्वाङले जनाए ।
‘मैले प्रतिपक्षसँग कुरा भैराखेको छु भनेँ’, उनले भने, ‘साथै सत्य निरुपण तथा मेलमिलाप र बेपत्तासम्बन्धी आयोगमा नियुक्तिका विषयमा सिफारिस कमिटीमा कुराकानी भैरहेको जानकारी गराएँ।’
प्रधानमन्त्री ओलीले संसदमा रहेका विधेयकहरुको विषयमा समेत चासो राखेका थिए।
‘उहाँले विधेयकहरूबारे चासो व्यक्त गर्नुभयो’, नेम्वाङले भने, ‘मैले प्रतिपक्षीसँग छलफल भए अनुसार विधेयकहरू अगाडि बढिरहेको र समितिहरुबाट संशोधनमार्फत् अगाडी बढ्ने जानकारी गराएँ ।’
विशेषगरी संक्रमणकालीन न्यायसम्बन्धी विधेयकको मस्यौदा यसअघि प्रधानमन्त्रीसहित नेकपा र कांग्रेस नेताहरुबीचको सहमतिअनुसार नै अघि बढिरहेको जानकारी आफूले गराएको उनले बताए ।
अन्य विधेयकहरु पनि सहमतिका आधारमा संशोधन प्रक्रिया अगाडि बढाइएको र कुनै चिन्ता नलिन आफूले प्रधानमन्त्रीलाई भनेको नेम्वाङको भनाइ छ ।
भदौ ५ गते सिंगापुर गएका प्रधानमन्त्री ओलीको ६ गतेदेखि उपचार थालिएको थियो । एकदिन बिराएर गरिने प्लाज्माफेरेसिस तीन पटक गरिसकिएको छ र बिहीबार चौंथो पटक हुँदैछ ।
प्रधानमन्त्रीको शरीरमा पाँचदेखि सात पटकको बीचमा प्लाज्माफेरेसिस गर्नुपर्ने क्याबिनेट डाक्टर दीलिप शर्माले बताएका छन् ।
१२ वर्षअघि फेरिएको मिर्गौलामा समस्या देखिएपछि प्रधानमन्त्री ओली उपचारका लागि सिंगापुर गएका हुन् । उनको त्यहाँ रहेको नेशलन युनिभर्सिटी हस्पिटलमा उपचार भइरहेको छ।











प्रतिक्रिया