१२ मंसिर २०८३, शनिबार

एटीएम ह्याक गरेर रकम चोरीमा संलग्न थप एक जना पक्राउ

322
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १६ भदौ । एटीएम ह्याक गरेर रकम चोरी कार्यमा संलग्न थप एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

सिसी टिभी फुटेजका आधारमा पहिचान भएका ती चिनियाँ नागरिकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमनबाट आइतबार राति पक्राउ गरिएको हो।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रयोग गरी भाग्न खोज्दा आइतबार राती पक्राउ परेका चिनियाँ मूलका ३६ वर्षे युवा सु लुस ली फ्रान्सका नागरिक भएको खुलेको हो ।

मलेसिया भाग्ने तयारीमा रहेका उनको मलेसियन एयर लाइन्सको बोर्डिङ पास समेत परिसरको टोलीले बरामद गरेको छ।

उनको फ्रेन्च राहदानी नम्बर १८ एके ९०२८० रहेको छ।

महानगरीय प्रहरी परिसर काठमाडौंका डीएसपी होविन्द्र बोगटी नेतृत्वको टोलीले लुसलीलाई अध्यागमनको सहयोगमा आइतबार राती विमानस्थलबाट पक्राउ गरेको थियो। बैंक ह्याक गरी पैसा लुट्ने आठ जनाको समूहका थप यी एक पक्राउ परेपनि अन्य दुई जना अझै फरार छन्।

प्रहरी अनुसन्धान अधिकारीहरूले आठ जनाको टोलीमा भाग्न सफल दुई जना र विमानस्थलबाट पक्राउ परेका लुसी प्राविधिक विज्ञ हुनसक्ने बताएका छन् ।

यूरोपेली देशकै पासपोर्ट बोक्नुले पनि उनीहरूले ह्याकको मुख्य केन्द्र युरोपलाई बनाएको प्रारम्भिक अनुसन्धानमा देखिएको छ।

यसअघि शनिबार राति महानगरीय प्रहरी परिसर काठमाडौंले रकम चोरीमा संलग्न ५ चिनियाँ नागरिकलाई पक्राउ गरेको थियो । पक्राउ पर्नेमा चिनियाँ नागरिक लिन जैनमेङ, लिओ जाइलेइ, सु लायङगाङ, क्यु युनक्विङ, र चेन बिनबिन रहेका छन् । उनीहरुलाई बैंकिङ कसुर मुद्दामा ७ दिनको म्याद लिएर प्रहरीले अनुसन्धान सुरु गरेको छ ।

एटीएम बुथमा शंकास्पद गतिविधि गरेको भनी बैंकबाट आएको सूचनाका आधारमा उनीहरु पक्राउ परेका थिए ।

नबिल बैंकको दरबारमार्गस्थित एटिएम बुथबाट पैसा निकालिरहेको अवस्थामा शनिबार एक जनालाई प्रहरीले पक्राउ गरेको थियो । त्यसपछि उनीमार्फत नै प्रहरीले थप ४ जनालाई पक्राउ गरेको थियो ।

प्रहरीले उनीहरुको साथबाट नेपाली रुपैयाँ १ करोड २६ लाख २९ हजार ४५, अमेरिकी डलर ९ हजार १ सय ८, चिनियाँ युआन १ हजार १९१, कम्बोडियन रियल ५ हजार, र हङकङ डलर ८०, नक्कली भिजा कार्ड १३२ थान, १७ थान सक्कली भिजाकार्ड, कार्ड प्रिन्टर मेसिन एक थान, मोबाइल ६ थान र ल्यापटप एक थान बरामद गरेको छ।

पक्राउ परेका चिनियाँ नागरिकहरू भदौ १३ गते नेपाल आएका थिए भने भदौ १६ गते फर्किने तयारीमा थिए ।