
काठमाडौँ, १५ भदौ । सरकारी कार्यालयका प्रमुखलाई धम्की दिने विप्लव निकट पत्रकारहरु पक्राउ परेका छन् ।
प्रहरीको महानगरीय अपराध महाशाखाले नेत्रबिक्रम चन्द (विप्लव) समूहको नाममा धम्क्याउँदै असुली गरेको अभियोगमा तीन जना पत्रकारलाई पक्राउ गरेको हो ।
विप्लवको नाममा बमको धम्की दिँदै सरकारी कर्मचारीहरुबाट रकम असुली गरेको आरोपमा जनध्वनी साप्ताहिकका सम्पादक सुवास कोईरालासहित पत्रकारहरु विश्वराज शर्मा र शुभम घिमिरेलाई पक्राउ गरेको महाशाखाले जनाएको छ ।
झापा गौरादह नगरपालिका- ७ का शर्मा हाल काठमाडाैँको बानेश्वर, झापा भद्रपुर नगरपालिका- ८ का कोईराला हाल भक्तपुर मध्यपुर नगरपालिका-३ गठ्ठाघर र झापा भद्रपुर नगरपालिका-८ कै घिमिरले हाल काठमाडाैँ काँडाघारी बस्दै आएका थिए ।
महाशाखाका एसपी केदार ढकालका अनुसार अभियुक्तहरुले विप्लव समूहको काठमाडौं इञ्चार्ज हुँ भन्दै सरकारी कर्मचारीलाई चन्दा माग्ने र नदिएमा घरमा बम पड्काउने तथा मार्ने धम्की दिने गरेका थिए ।
पक्राउ परेकाहरुलाई आवश्यक अनुसन्धान तथा कारबाहीको गालि महानगरीय प्रहरी परिसर बुझाइएको महाशाखाले जनाएको छ ।











प्रतिक्रिया