
काठमाडौँ, १५ भदौ । एटीएमको पिन नम्बर ह्याक गरेर करोडौं रुपैयाँ लुट्न आएका ५ जना चिनियाँ नागरिकलाई प्रहरीले सार्वजनिक गरेको छ ।
महानगरीय प्रहरी परिसर काठमाडौंले आज दिउँसो पत्रकार सम्मेलन गर्दै उनीहरुलाई सार्वजनिक गरिएको हो ।
पक्राउ पर्नेमा ३५ वर्षका चेन विन विन, ३२ वर्षका झु लियाङ आङ, ३० वर्षका क्यु याङयिङ, ४० वर्षका लु जियालिङ, २९ वर्षका लिन जिनमिङ रहेका छन् । प्रहरीले उनीहरुको साथबाट १ करोड २६ लाख २९ हजार ४५ नेपाली रुपैयाँ र ९ हजार १ सय ८ अमेरिकी डलर बरामद गरेको जनाएको छ ।
प्रहरीका अनुसार उनीहरुले शनिवारसम्म १ करोड ३६ लाख रुपैयाँ बैंकको एटीएमबाट निकालेको देखिएको छ । परिसरको विषेश टोलीले सूचनाको आधारमा उनीहरुलाई आइतवार बिहान नियन्त्रणमा लिएको थियो । घटनामा संलग्न अन्यको पनि खोजी भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी उत्तमराज सुवेदीले जानकारी दिए ।
उनीहरु चीनबाट नै नेपालमा रहेका एटीएम बुथबाट रकम लुट्ने योजनाका साथ नेपाल आएको देखिएको प्रहरी बताउँछ । उनीहरु पर्यटक भिसामा शुक्रवार नेपाल प्रवेश गरेका थिए।
उनीहरुले जय नेपाल हलनजिकै रहेको माया मनोर बुटिक होटेल बुक गराएका थिए । होटेलको तीन वटा कोठा बुक गराएर शुक्रवारदेखि त्यहीँ बसेका थिए ।
यसैबीच, एटीएम ह्याक गरेर चिनियाँ नागरिकले रकम झिके पनि बैंकहरुमा सर्वसाधारणको निक्षेप सुरक्षित रहेको नेपाल बैंकर्स संघले जनाएको छ ।
एटीएम मेसिनबाटै रकम चोरी भएपछि सर्वसाधारणको निपेक्ष सुरक्षित भए/नभएको प्रश्न उठेको थियो ।
चोरीमा संलग्नहरुलाई सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्र ढुंगानाले सर्वसाधारणको निक्षेप सुरक्षित रहेको बताए ।
चोरी गर्दागर्दै थाहा पाएकाले ठूलो नोक्सानीबाट जोगिएको संघले बताएको छ ।
एटीएमबाट चोरी भएको रकम कुनै व्यक्तिगत खाताबाट नभएको ढुंगानाले बताए । यदि व्यक्तिगत खाताबाट नै रकम निकालिएको भए पनि बैंकले बेहोर्ने भन्दै निक्षेपकर्ताले आत्तिन नपर्ने उनले बताए । नोक्शान भएको रकममध्ये आधा रकम नगद नै जफत भएकोले धेरै तनाब पनि नभएको बताए ।
रकम चोरिने खतरा भएकोले शनिबार राति केही बैंकहरुको सर्भर डाउन गरिएको उनले जानकारी दिए । आइतबार कार्यालय शुरु भएपछि एटीएम कारोबार शुरु गरिएको ढुंगानाले बताए ।
हालसम्म १ करोड ६८ लाख रुपैयाँ क्षति भएको नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक बमबहादुर मिश्रले जानकारी दिए । उनले पनि सर्वसाधारणको खातामा भएको रकममा कुनै जोखिम नरहेको बताएका छन् ।











प्रतिक्रिया