
काठमाडौँ, १५ भदौ । ह्याकरको निशानामा नेपालका बैंकहरु पर्न थालेपछि अधिकांश बैंकहरुले आफ्नो एटीएम सेवा बन्द गरेका छन् ।
प्रहरीले एटीएम ह्याक गरेर रकम निकाल्ने ५ जना चिनियाँ नागरिकलाई पक्राउ गरेपछि सुरक्षा खतराका कारण बैंकहरुले तत्कालका लागि एटीएम बन्द गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी होबिन्द्र बोगटीले जानकारी दिए ।
प्रहरीले पक्राउ परेका ५ चिनियाँ नागरिकको साथबाट १ करोड २६ लाख २९ हजार ४५ रुपैयाँ र ९ हजार अमेरिकी डलर बरामद गरेको छ । बैंकका खातावालाको रकम उनीहरुले अनधिकृत रुपमा निकालेका थिए ।
चिनियाँ गिरोह पक्राउ पुर्नुलाई प्रहरीले ठूलो सफलता भनेको छ ।
नेपाल राष्ट्र बैंकले एनआईसी एसिया र प्रभु बैंकको एटीएम सर्भर डाउन भएको पुष्टि गरेको छ ।
काठमाडौं प्रहरी प्रमुख एसएसपी उत्तमराज सुवेदीका अनुसार बैंकिङ सिस्टमको भिसा कार्डसँग सम्बन्धित एक सिस्टम ह्याक भएको छ ।
स्रोतका अनुसार नेप्स भन्ने संस्थाले बनाएको बैंकिङ सिस्टम १२-१५ वटा बैंकहरुले प्रयोग गरेका छन् र ती सबै बैंकहरुको एटिएम चलेका छैनन् ।
काठमाडौं उपत्यका र विभिन्न जिल्लामा धेरैजसो बैंकका एटिएम मेसिन बन्द भएका नेपाल प्रहरीले जनाएको छ । प्रहरीको आग्रहमा बैंकका एटिएम मेसिन बन्द गरिएको हो ।
यसैबीच, प्रभु बैंक र एनआईसी एशियाबाहेकका बैंकहरूको एटीएम सेवा सञ्चालनमा आएको दाबी गरिएको छ ।
बैंक तथा वित्तीय संस्थाहरुको नियामक निकाय नेपाल राष्ट्र बैंकले पनि २ बाहेकका बैंकको एटीएम सेवा सञ्चालनमा आएको जनाएकाे छ । प्रभु बैंक र एनआईसी एशियाकाे सेवा पूर्ववत अवस्थामा आउन केही समय लाग्ने उसको भनाइ छ । ती दुई बैंकहरुको केही प्राविधिक कामहरु बाँकी भएकाले सर्भर अहिले पनि डाउन नै भएको नेपाल राष्ट्र बैंकले बताएको छ ।
एटीएम सेवा चले पनि अर्को बैंकको एटिएमबाट पैसा निकाल्न भने बन्द भएको बैंकहरुले बताएका छन् । ग्लोबल आईएमई बैंकका कार्यबाहक प्रमुख कार्यकारी अधिकृत महेश शर्मा ढकालले अन्य बैंकको रकम भने निकाल्न नमिल्ने बताए ।
धेरै समस्या समाधान भइसकेको भए पनि अझै केही समस्याहरु भने बाँकी रहेको बैंकर एशोसिएसनका अध्यक्ष ज्ञानेन्द्र ढुंगानाले जानकारी दिए । बाँकी समस्या समाधान गर्ने कोसिस भइरहेको उनकाे भनाइ छ ।
एटीएममा कसरी समस्या आयो, अब के गर्ने भन्ने विषयमा २ बजे पत्रकार सम्मेलन गरेर जानकारी दिइने उनले बताए । उनका अनुसार, महानगरीय प्रहरी परिसरमा पत्रकार सम्मेलन आयोजना गरिएको छ । प्रहरीले आयोजना गरेको पत्रकार सम्मेलनमा बैंकर एशोसिएसनका प्रतिनिधिहरु समेत बस्नेछन् ।











प्रतिक्रिया