काठमाडौं, १४ भदौ । विश्व हिन्दु महासंघले सुर्खेतको कटकुवा जंगलमा भएको सामूहिक गौहत्याको घटनाप्रति गम्भीर ध्यानाकर्षण गराउँदै त्यसमा संलग्नलाई कडा कारबाहीको माग गरेको छ ।
महासंघकी महासचिव अस्मिता भण्डारीले ‘हाम्रो देशको राष्ट्रिय जनावर गाईलाई हाम्रो पूर्वीय दर्शन र हिन्दू धर्म संस्कृतिमा आमा सरह मान्ने र पुजा गर्ने परम्परा रहिआएको छ । गौहत्या गर्नु महाअपराध हो, यस्तो गर्न पाइँदैन, गर्नेलाई कानुनबमोजिम कडा भन्दा कडा दण्डित गरिनु पर्दछ’ भनेकी छन् ।
उनले अगाडि भनेकी छन्,‘त्यस्ता अपराधीको पहिचान गरी कानूनी दायरामा ल्याई कानुनबमोजिम दण्डित गर्नका निम्ति नेपाल सरकारसँगजोडदार माग गर्दछु ।’
देशका विभिन्न ठाउँमा पर्याप्त गौशालाहरु नहुनु, छाडा छोडिएका चौपायाहरुको उचित व्यवस्थापनका निम्ति राज्यले उदासीनता देखाउनुले पनि गौहत्याले अझै प्रश्रय पाएको उनको ठहर छ ।
संसारको एकमात्र हिन्दु अधिराज्यको पहिचान भएको देशलाई विदेशीको इसारामा परेर धर्मनिरपेक्ष गरिएपछि गौहत्याका यस्ता दुखद घटनाहरु बढेको उनले जनाएकी छन् ।
‘गाई हाम्रो राष्ट्रिय जनावर पनि भएकाले गौको संरक्षण गर्नु राज्यको प्रमुख दायित्व हो । तसर्थ मुलुकका विभिन्न भागहरुमा उचित गौशालाहरुको व्यवस्थापनका निम्ति पनि नेपाल सरकारसँग आग्रह गर्दछु’ भण्डारीले भनिन् ।











प्रतिक्रिया