१२ मंसिर २०८३, शनिबार

ठेकेदार शम्भु भारतीविरुद्ध सर्वोच्च अदालतले के–के ठहराएको थियो ?

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ भदौ । नेपाल प्रहरीको चर्चित सुडान घोटाला काण्डमा दोषी देखिएको ठेकेदार शम्भु भारतीलाई प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी)ले पक्राउ गरी अदालतमा उपस्थित गराएको छ ।

उनी, भ्रष्टाचार अभियोग लागेका फरार प्रतिवादी थिए । ललितपुरस्थित निवासबाट पक्राउ गरी सीआईबीले अदालतमा पेस गरेको थियो ।

सर्वोच्च अदालतले यस प्रकरणमा भारतीलाई विभिन्न विषयमा कसुरवार ठहर गर्दा यस्तो आदेश दिएको थियो ।

–मुख्य आपूर्तिकर्ता अस्युरड रिस्क कम्पनी लन्डनको तर्फबाट स्थानीय प्रतिनिधि भई सुडानको डार्फरमा खटिने नेपाल प्रहरीको एफपीयूको लागि आवश्यक बन्दोबस्तीको सामान खरिद गर्न नेपाल प्रहरीसँग ७ सेप्टेम्बर २००७ मा सम्झौता गरेको र सो सम्झौता गर्नुअगाडि मुख्य कम्पनीको तर्फबाट सामानको स्फेशिफिकेशनमा मूल्यसमेत खुलाई कोटेशन पेस गर्नुपर्नेमा तत्कालीन नेपाल प्रहरीका प्रहरी महानिरीक्षक ओमविक्रम राणाको निर्देशनमा स्पेसिफिकेशन र क्याटलगबिना नै सामानको दररेट बनाउन लगाएको ।

गृह मन्त्रालयबाट पठाइएका ३४ वटा सम्भाव्य कम्पनीलाई प्रतिस्पर्धामा आउन नै नदिई जम्मा ३ वटा सूचीकृत फर्मको छनौट गरी यिनै प्रतिवादीका नाताका मानिस संलग्न रहेका अन्य दुईवटा फर्मसँग मिलेमतो गरी दरभाउपत्र पेस गर्न पत्राचार गरेको र अन्ततः आफैं एजेण्ट भएको उक्त कम्पनीलाई ठेक्का पारेपछि आईएसओ स्ट्यान्डर्ड एपीसीको सट्टामा शुरूदेखि नै सोचविचार गरी कोटेशनमा मूल सम्झौताको विपरीतका सर्तहरू थपी ८ थान पुराना र काम नलाग्ने एपीसी सप्लाई गराएको ।

–कोटेशनको सर्त नं.१० मा भुक्तानी प्रणाली सुरूमा ४० प्रतिशत र सामान डेलिभरी भएपछि ६० प्रतिशत भुक्तानी दिने सर्त उल्लेख गरेकोमा पछि ती सर्तविपरित भुक्तानी तालिका तयार भई प्रतिवादी कम्पनीको नाममा भुक्तानी गराएको ।

–२७ सेप्टेम्बर २००७ को करारमा उल्लेख भएको आईएसओ स्ट्यान्डर्डका सामान हुनुपर्ने प्रावधानहरूलाई मिति २००७–१०–१७ मा एलसी संशोधन गरी हटाएको र सामानको इन्सपेक्सन गर्ने र युएनको इन्सपेक्सनपछि भुक्तानी दिने कुराको पालन नगरी सामान डेलिभरी र इन्सपेक्सन नै नगरी भुक्तानी लिएको ।

–एपीसीमा १२.५ एम.एम. को हतियार मात्र प्रयोग गर्नुपर्ने मापदण्ड रहेकोमा आपूर्ति भएका एपीसीमा १४.५–७.६२ एम.एम. को हतियार जडान गर्ने ःयगलत रहेको, सञ्चरिक साधन पनि नजोडिएको र वातानुकूलन उपकरण (एपीसी) पनि नरहेको भन्ने निरीक्षण टोलीबाट खुल्न आएको ।

–यी प्रतिवादीले प्रहरी प्रधान कार्यालयबाट रू. तीन करोड १० लाख ३७ हजार तीन सय ४०  बुभेकोे देखिन्छ । तर सो रकम मूल कम्पनीलाई वैध माध्यमको रूपमा प्रचलित बैंकिङ प्रणालीमार्फत पठाएको नदेखिएको ।

–यसरी यी प्रतिवादीले एपीसी र सोको स्पेयर पार्टस खरिद गर्दा तथा ढुवानी गर्दा खर्च भएको नेपाल प्रहरी कल्याण कोषको रकम सो सामानहरू कमसल भएको कारण संयुक्त राष्ट्र संघबाट रकम सोधभर्ना हुन नसकी आफू र निजको मूल कम्पनीलाई गैरकानूनी लाभ र नेपाल प्रहरीलाई गैरकानूनी हानि नोक्सानी पुर्याउने गरी कार्य गर्नुको साथै सो कार्यको लागि मतियारको समेत भूमिका निर्वाह गरेको देखिन आएको हुँदा पुनरावेदक प्रतिवादी शम्भु भारतीलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८(४) र २२ बमोजिमको कसुरमा एक वर्ष कैद तथा बिगोको आधा चौध करोड बीस लाख आठ हजार तीन रूपैयाँ तीन पैसा जरिवाना गरी त्यति नै बिगो प्रहरी कल्याण कोषले निजबाट भराई लिन पाउने ठहर्याएको विशेष अदालतको फैसला सर्वोच्च अदालतले सदर गरेको ।