
काठमाडौं, १४ भदौ । शिव सेना नेपालले सुर्खेतमा तीन सय गाईगोरु भीरबाट लडाएर मार्ने अपराधीको पहिचान गरी कारबाहीको माग गरेको छ ।
नेपालगन्जबाट दैलेख लैजान भनेर करिब तीन सयवटा गाईगोरु सुर्खेतको वीरेन्द्रनगरमा लगी लडाइएको घटना शंकास्पद रहेको भन्दै हिन्दू धर्म विरोधीले उक्त काम गरेको हुन सक्ने जनाएको छ ।
शिव सेना अध्यक्ष अनिल बस्नेतले विज्ञप्ति जारी गरी भनेका छन्,‘ यो घटना हिन्दुधर्ममाथिको प्रहार हो । हिन्दुधर्ममा आस्था राख्ने तमाम जनमानसको मन यो घटनाले छोएको छ । गौ मातालाई भीरबाट खसाउने अपराध र पाप जो जो दूराचारीले गरेका छन् ती निश्चय नै अपराधको भागिदार हुनेछन् ।’
यस्तो बर्बर कृत्य कसरी भयो, किन भयो ? भन्ने विषयमा अनुसन्धानका क्रममा खुल्दै जाने जनाएका उनले भनेका छन्,‘एकपछि अर्को गर्दै हिन्दु धर्ममा आस्था राख्नेहरुमाथि भइरहेको प्रहारका कारण हामी यस घटनाबाट पनि सशंकित भएका छौं ।’
घटनामा २३ गाई शुक्रबार नै मरिसकेका थिए । प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ । केही ट्रक र त्यसका चालक नियन्त्रणमा लिइएको पनि विवरणहरूमा आएका छन् ।











प्रतिक्रिया