काठमाडौं, १४ भदाैं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को विभाग तथा जनवर्गीय संगठन अझैसम्म पनि लथालिङ रहेको छ । राजधानी दैनिकले खबर छापेकाे छ ।
देशकै सबैभन्दा ठूलो र बलियो पार्टी भए पनि उसका विभाग र जनवर्गीय संगठनले पूर्णता पाउन नसक्दा कमजोर हुन पुगेका छन् । पार्टीका गतिविधि प्रभावकारी रूपमा अघि बढ्न सकेका छैनन् भने विभाग तथा जनवर्गीय संगठनको समेत कुनै कार्यक्रम हुन सकेका छैनन् ।
तत्कालीन एमाले र माओवादी केन्द्रका बीचमा ३ जेठ २०७५ मा पार्टी एकता भएको थियो । दुई ठूला कम्युनिस्ट पार्टीबीच एकीकरणपश्चात् बनेको नेकपाले अहिले सरकारको नेतृत्वसमेत गरिरहेको छ ।
पार्टी एकता भएको १५ महिना बित्दासमेत एकताका सबै काम पूर्ण रूपमा अझै टुंगो लाग्न सकेको छैन । नेकपा सचिवालय सदस्य एवं प्रचार विभाग प्रमुख नारायणकाजी श्रेष्ठले एकताको सबै काम एक साता भित्रैमा टुंगो लाग्ने बताए ।
एकताको सबै काम एक साताभित्रै टुंगो लगाई देशैभरि दुई चरणको अभियान सुरु गर्ने उनले बताए । पहिलो चरणअन्तर्गत पार्टीका सदस्यलाई प्रशिक्षण दिने र दोस्रो चरणमा देशैभरि जागरण अभियान सञ्चालन गर्ने उनले बताए ।
‘हामीले एकीकरणको महत्वपूर्ण काम सकेका छौं, केही बाँकी काम पनि यही साताभित्रै सक्दै छौं,’ श्रेष्ठले भने, ‘एकताको सबै काम टुंगो लगाउँदै देशैभरि दुई चरणको अभियान सुरु गर्नेछौं, पहिलो चरणमा आन्तरिक प्रशिक्षण र दोस्रो चरणमा जागरण अभियान सञ्चालन गर्नेछौं ।’
देशैभरि सञ्चालन हुने दुई चरणको अभियानअन्तर्गत पार्टीलाई अझै बलियो बनाउने काम हुने उनले बताए । त्यसका लागि जनसंगठनलाई पूर्णता दिने र परिचालन गर्ने काममा अहिले गृहकार्य भइरहेको उनले बताए ।
पार्टी एकतापछि पार्टी र जनसंगठनका कार्यक्रम प्रायः शून्य छ । सरकारका कतिपय राम्रा कामको जनस्तरसम्म राम्रोसँग प्रचारप्रसारसमेत हुन सकेको छैन । एकताको बारेमा अझै पार्टीले जनस्तरसम्म सन्देश प्रवाह गर्न सकेको छैन ।
कम्युुनिस्ट पार्टीमा नियमित रूपमा प्रशिक्षण, भेला, बैठक, कार्यक्रम हुने गरेको छ । तर, पार्टी एकताको १५ महिनासम्म पनि पार्टीका गतिविधि सुस्ताएको देखिन्छ । जनता एवं पार्टीकै स्थानीय नेता कार्यकर्ताको चाहना, समस्या बुझ्न पनि यस्ता कार्यक्रमले सजिलो हुन्थ्यो । र समाधान गर्न नेतृत्वलाई सजिलोसमेत हुन्थ्यो ।
नेकपा स्थायी कमिटीका सदस्य एवं विज्ञान तथा प्रविधि विभाग प्रमुख गणेश साहले पार्टी एकताको कार्य सकिनै लागेको बताए । अब पार्टीका शीर्ष नेताकै सहभागितामा स्थानीय स्तरसम्म पुगेर विभिन्न कार्यक्रम, बैठक, प्रशिक्षण, भेला हुने उनले बताए ।















प्रतिक्रिया