१२ मंसिर २०८३, शनिबार

विवाहको बहानामा नेपाली महिलालाई चीनमा यौनदासी बनाउँदै ‘दलाल’हरु

336
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १३ भदौ । चीनमा यौनदासी बनाउन नेपाली चेलीलाई दुलही बनाउँदै तस्करी हुने गरेको पाइएको छ ।

प्रहरीको मानव बेचबिखन अनुसन्धान व्युरोले चीन लैजान लागिएका दुई नेपाली महिला पक्राउ गरेपछि रहस्य बाहिरिएको हो ।

प्रहरीले विभिन्न मिति तथा स्थानहरुबाट ४ जना पीडित युवतीहरुको उद्धारसमेत गरेको छ  भने मानव तस्करीमा संलग्न ६ नेपाली र ४ चिनियाँ नागरिक गरी १० जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोकको हेलम्बु–२ की रिना तामाङ भनिने बिबिरानी तामाङ, नुवाकोटको ककनी गाउँपालिका–४ घर भई टोखा बस्ने रोज तामाङ, लमजुङको बेँसीसहर–३ की पार्वती गुरुङ, सोही ठाउँकी अमृता गुरुङ, बेँसीसहरकै भरत तामाङ, लमजुङकै उषाकुमारी घिमिरे छन् ।

त्यसैगरी,  पक्राउ परेका चिनियाँ नागरिकमा जेङ छिङ डाङ, झाङ डोङ हुई, क्वानहाङ पिङ, क्वीन लियाङ छन् ।

व्युरोका एसएसपी ईश्वरबाबु कार्कीका अनुसार पाँच दिनका लागि मात्र नेपाल आएका चिनियाँले नेपाली दलालको सहयोग नेपाली महिलासँग कानुनी रुपमै विवाह गरेको भेटिएको छ ।

‘चिनजान नै हुन नपाउँदै विवाह हुनु, एकअर्काको भाषासमेत नजान्नु लगायतका कुरा थाहा पाएपछि हामीले अनुसन्धान सुरु गर्दा चीनमा यौनदासी बनाउनका लागि लगिने गरेको खुल्यो’, एसएसपी कार्कीले भने ।

यसमा नेपाली गिरोहले चिनियाँ नागरिकलाई सहयोग गर्ने गरेको खुलेको छ ।

अनुसन्धानका क्रममा नेपालका विभिन्न जिल्लाहरूबाट पारिवारिक तथा आर्थिक अवस्था कमजोर भएका युवतीहरुलाई चिनियाँ नागरिकसँग विवाह गरी चीन गएमा जीवनशैली राम्रो हुने, चिनियाँ पासपोर्ट प्राप्त गर्ने, परिवारले समेत आर्थिक लाभ प्राप्त गर्ने भनी प्रलोभन देखाउने गरेको पाइएको छ । व्युरोका अनुसार प्रायः कम उमेरका तथा मंगोलियन अनुहारका युवतीहरुलाई लक्षित गर्दै पीडितलाई स्थानीय दलालहरुले आफ्नो साथमा काठमाडौं ल्याई दलाललाई जिम्मा लगाउने गरेको पाइएको छ ।

यस्तै दलालहरुमार्फत् आएका युवतीहरुलाई काठमाडौंको दलालले आफूसँग फ्ल्याटमा राखी उनीहरुलाई विदेश नपठाउँदासम्म सामान्यतयाः १०–१५ दिन जति सोही स्थानमा राख्ने गरेको पाइएको एसएसपी कार्कीले बताए ।

यस क्रममा युवतीहरुलाई मेकअप गर्न सिकाउने, भड्किलो पहिरन लगाउन उत्प्रेरित गर्ने, अन्य एजेन्टहरुमार्फत् विवाह गर्न इच्छुक चिनियाँ नागरिकहरुलाई प्रत्यक्ष र भिडियो कलमार्फत् भेट गराउनेर चिनियाँहरुले आफ्नो इच्छानुसार युवतीहरु छान्ने गरेको पाइएको छ ।

चिनियाँ र नेपाली दलालहरुको समन्वयमा नेपाली युवती र चिनियाँ युवकहरुलाई भाषा अनुवादको समेत व्यवस्था गरी (भाषा अनुवादक प्रायः नेपाली दलाल हुने गरेको) काठमाडौंका विभिन्न स्थानहरुमा भेटघाट गराउने गरेको पाइएको छ।

काठमाडौंमा भेटपश्चात् चिनियाँ नागरिकले आफूले छानेका युवतीहरुको यकिन गर्ने गरेका थिए। २/४ दिन चिनियाँ नागरिकसँग विभिन्न स्थानहरुमा अथवा अनलाइन सम्पर्क गराउने, चिनियाँ खानपिन तथा रहनसहनबारे सिकाउने गरेको अनुसन्धानबाट खुलेको छ।

त्यस्तै, युवतीहरुलाई विवाहका लागि आवश्यक कागतपत्रहरु अविवाहित प्रमाणपत्र, विवाह दर्ता आदि आफै तयार गर्न लगाउने गरेको पाइएको छ ।

विवाहका लागि युवतीका परिवारलाई समेत विभिन्न प्रलोभनमा पारी सहमति लिने, सम्भव भएसम्म हुनेवाला दुलाहासँग भेटघाट गराई विवाह दर्ताका क्रममा साक्षीको रुपमा समेत राख्ने गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

काठमाडौं जिल्ला अदालतबाट कानुनी प्रक्रिया पूरा गरी विवाह दर्ता परिवारका सदस्यहरुकै उपस्थितिमा गराउने र विमानस्थलसम्म पुर्‍याउनेसम्मका योजना रहेको देखिएको छ । यसबाट परिवारको पूर्ण सहमतिमा विवाह गराई चीन पठाउने भन्ने देखिएको प्रहरीले जनाएको छ ।

चिनियाँ एजेन्टहरु लामो समयदेखि नेपालमा विभिन्न पेसा गरी बसोबास गर्ने, नेपाली नागरिकहरुसँग राम्रो चिनजान गर्ने, नेपाली भाषा बोल्नेसम्म भएका थिए । नेपालीहरुसँग चिनजानको आधारमा उनीहरुलाई विभिन्न गाउँहरुबाट नेपाली युवतीहरु खोजी काठमाडौंसम्म ल्याउन प्रेरित गर्ने गरेका थिए।

एक युवतीलाई विवाह गराएबापत काठमाडौंमा रहेको चिनियाँ दलालले १० लाखसम्म पाउने सहमति भएको थियो ।

त्यस्तै काठमाडौंका नेपाली दलालले १ देखि २ लाख, युवतीहरु राख्ने नेपाली दलालले ८० हजार, युवतीका अभिभावकले ५० देखि ६० हजार र नयाँ फोन वा जिन्सी सामानहरु प्राप्त गरेको देखिएको छ ।

अभियुक्तहरुबाट १२ थान मोबाइल र २१ लाख ९७ हजार ९ सय ६० नेपाली रुपैयाँ, ३८ हजार भारु, ३३ सय चिनियाँ युयान र ९ अमेरिकी डलर बरामद भएको छ ।

नेपाली युवतीहरुलाई यसरी नै विवाहको माध्यमबाट चीन र दक्षिण कोरिया पठाउने समूहका अपराधीहरुलाई २०७१ सालमा केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरी कारबाही गरिएको थियो ।

नेपाली र चिनियाँ दलालहरुले गाउँदेखि चीनसम्म आफ्नो सञ्जाल फैलाई संगठित रूपमा पैसाको लेनदेन गराई विवाह गराउने गरेको पाइएको प्रहरीले जनाएको छ ।