
भरतपुर, ९ भदौ । पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा पक्राउ परेका टिभी कार्यक्रम प्रस्तोता रवि लामिछानेसहित तीन जनालाई बयानका लागि अदालत लगिएको छ ।
प्रहरी हिरासतबाट लामिछाने, पत्रकार युवराज कँडेल र नर्स रुकु भन्ने अस्मिता कार्कीलाई जिल्ला अदालत लगिएको हो । आज लामिछाने र कँडेलको बयानपछि थुनछेक बहस सुरु हुने जिल्ला अदालत चितवनले जनाएको छ ।
अस्मिताको हिजो नै बयान सकिएको थियो । पत्रकार पुडासैनीको आत्महत्या दुरुत्साहनमा तीनजना विरुद्ध हिजो चितवन जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ ।
न्यायाधीशको उपस्थितिमा हुने बयानपछि आजै थुनछेक बहस हुनेछ । त्यसपछि सकभर आजै र बहस नसकिएमा भोलिसम्म निर्णय आउने छ ।
जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउने, धरौटी लिएर छाड्ने र तारेखमा रिहा गर्ने तीन विकल्पमा निर्णय गर्नेछ ।
पत्रकार पुडासैनीको मोबाइलमा भेट्टिएको भिडियोमा लामिछाने, कँडेल र कार्कीका कारण आफूले आत्महत्या गरेको उल्लेख छ । त्यसैका आधारमा प्रहरीले तीनजनालाई पक्रेको थियो ।
लगत्तै पीडित परिवारको तर्फबाट पुडासैनीकी श्रीमती सम्झनाले समेत तीनजनालाई आत्महत्या दुरुत्साहन अन्तरगत कारबाहीको माग गर्दै किटानी जाहेरी दिएकी छन् ।
यसैबीच, रविको समर्थनमा उग्र प्रदर्शन हुन थालेपछि चितवन प्रशासनले विभिन्न क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ ।
यो पनि पढ्नुहोस्
-भरतपुरमा पाँच जनाभन्दा धेरै जम्मा हुन नपाइने, निषेधाज्ञा घाेषणा











प्रतिक्रिया