आइतबार, २९ भदौ २०७६
DainikNepal.com
आइतबार, २९ भदौ २०७६

नेकपा अध्यक्ष प्रचण्डद्धारा पहिलाेपटक सचिवालय बैठक आह्वान

दैनिक नेपाल २०७६ भदौ ८ गते २१:१७

काठमाडौँ, ८ भदौ । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पहिलो पटक सचिवालय बैठक बोलाएका छन् । तत्कालीन एमाले र माओवादीबीच पार्टी एकिकरणको १५ महिनापछि कार्यकारी अधिकार पाएका अध्यक्षले यसअघि यो अवसर पाएका थिएनन् ।

हाल प्रधानमन्त्री एवं नेकपा अध्यक्ष ओली उपचारको शिलशिलामा सिंगापुर छन् । भदौ ५ मा सिंगापुर जानुभन्दा केही समय अगाडि सोही दिन बसेको नेकपाको सचिवालय बैठकले अर्का अध्यक्ष प्रचण्डको अध्यक्षतामा बैठक बसी सांगठनिक एकता र अन्य निर्णयहरू गर्ने सहमति जनाएको थियो । सोही निर्णयअनुरुप प्रचण्डले सोमबार बैठक बोलाएका हुन् ।

बैठक दिउँसो १ बजे पार्टी कार्यालय धुम्बाराहीमा बस्ने भएको छ । सोमबार बस्ने सचिवालय पार्टी कार्यालयमा पहिलो पटक बस्न लागेको हो भने यसअघि प्रधानमन्त्री निवास बालुवाटारमा हुने गरेको थियो ।

भोली बस्ने बैठकले महानगर कमिटीका पदाधिकारी, प्रवास र केही आयोगका प्रमुख उपप्रमुख टुंग्याउने भएको छ । पार्टीमा कार्यकारी अधिकार पाएसँगै अध्यक्ष प्रचण्डले अन्य तहका नेताहरुसँग पनि भेटघाट र छलफल गरेका छन् । आईतबार बिहान राष्ट्रपति विद्यादेवी भण्डारी र अध्यक्ष प्रचण्डबीच भेटवार्ता भएको थियो । भेटमा राष्ट्रपति भण्डारीले दुई अध्यक्ष मिलेर अगाडि बढ्न सुझाव दिएकी छन् ।

यस्तै असन्तुष्ट बनेका वरिष्ठ नेता माधवकुमार नेपालसँग शुक्रबार आफ्नै निवास खुमलटारमा भेटवार्ता गरेका थिए । यस्तै भदौ १ गते बसेको सचिवालय बैठकले हालसम्म तेस्रो वरियतामा रहेका नेता नेपाललाई चौँथो वरियता र चौथो वरियतामा रहेका नेता झलनाथ खनाललाई तेस्रो वरियतामा ल्याउने निर्णय गरेको थियो । सो निर्णयसँगै नेता नेपाल असन्तुष्ट बनेका छन् । उनले आफ्ना असन्तुष्टि लिखितरुपमै सचिवालयमा दर्ज समेत गराइसकेका छन् ।

नेता वामदेव गौतमलाई पार्टी उपाध्यक्ष बनाउने निर्णय गरेसँगै नेता नेपालले तत्कालीन एमालेका तीन उपाध्यक्ष युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य र भीम रावललाई पनि सचिवालयमा ल्याउनुपर्ने माग पनि गरेका छन् । तर, नेता नेपालको मागलाई अर्का अध्यक्ष ओलीले ठाडै अस्वीकार गरिदिएका थिए ।

प्रतिक्रिया
सम्बन्धित