सोमबार, ३० भदौ २०७६
DainikNepal.com
सोमबार, ३० भदौ २०७६

गोकर्ण विष्टको गुनासो : ‘नेता’हरुको असहयोगले सामाजिक सुरक्षा कार्यान्वनयमा समस्या भयो

दैनिक नेपाल २०७६ भदौ ८ गते १३:५५

काठमाडौँ, ८ भदौ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले रोजगारदाता संस्थाका नेताहरुको असहयोगका कारण सामाजिक सुरक्षा योजना कार्यान्वनयमा समस्या भएको गुनासो गरेका छन् ।

संयुक्त ट्रेड युनियन समन्वय केन्द्रले आइतबार ललितपुरमा गरेको कार्यक्रममा बोल्दै मन्त्री विष्टले रोजगारदाता संस्थाका नेताहरूकै कारण प्रतिष्ठान नै सामाजिक सुरक्षा योजनाको सूचीकरणमा आवद्ध नभएको गुनासो गरे ।

नेताहरुद्धारा सञ्चालित प्रतिष्ठानको सूचीकरण नहुनुले नै कानुन कार्यान्वनमा समस्या सिर्जना भएको मन्त्री बिष्टले दाबी गरे । उनले लिखित प्रतिवद्धता जनाएर पनि सामाजिक सुरक्षा सूचीकरणमा नगएका नेताहरूका प्रतिवद्धता नै सार्वजनिक गर्ने चेतावनी दिए ।

मन्त्री विष्टले सरकारले औद्योगिक क्षेत्रहरूमा कर्मचारी नै परिचालन गरी सबैको सामाजिक सुरक्षा योजनामा सूचीकरण गर्ने काम गरिने बताए । ऐन बनेको एक वर्षसम्म पनि श्रमिकहरुले सामाजिक सुरक्षा योजनाबारे जानकार नरहेको भन्दै उनले योजनाको फाइदाबारे जानकारी गराउनुपर्ने आवश्कता औँल्याए ।

सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक कपिलमणी ज्ञवालीले सामाजिक सुरक्षा योजनाअन्तर्गत श्रमिकको औषधि उपचार तथा स्वास्थ्य सुविधा, मातृत्व सुरक्षा सुविधा, वृद्ध अवस्था सुरक्षा सुविधा, दुर्घटना तथा अशक्तता सुरक्षा सुविधा, आश्रित परिवार सुरक्षालगायत योजनाहरू रहेको उल्लेख गर्दै सबैलाई सूचीकृत हुन आग्रह गरे ।

संयुक्त ट्रेड युनियन समन्वय केन्द्रका अध्यक्ष विनोद श्रेष्ठले ऐन बनेको १ वर्षसम्म पनि कानुन कार्यान्वयनले अपेक्षित सफलता प्राप्त गर्न नसकेको तथा रोजगारदाता र श्रमिक उत्साहित नहुनुको कारण खोजिनुपर्ने बताए ।

प्रतिक्रिया
सम्बन्धित