काठमाडौं, ८ भदाै । प्रधानमन्त्री केपी ओली उपचारका लागि सिंगापुर गएसँगै नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालको सक्रियता बढेको छ । राजधानी दैनिकले खबर छापेकाे छ ।
पार्टी एकताको बाँकी काम टुंगो लगाउनका लागि उनको सक्रियता बढेको जानकारहर बताउँछन् । सिंगापुर जानु अघि ओलीले पार्टी एकताको बाँकी काम गर्ने गरी दाहाललाई अख्तियारी दिएका थिए ।
तत्कालीन एमाले र माओवादी केन्द्रबीच पार्टी एकता भएको १५ महिना बित्दा पनि पोलिटब्युरो कमिटी, आयोग, मञ्च, प्रवास कमिटीसहित केही केन्द्रीय सदस्यको कार्यविभाजन टुंगो लागेको छैन । यी विषयलाई टुंगो लगाउने गरी दाहालको सक्रियता बढेको नेकपा स्थायी कमिटीका सदस्य देवेन्द्र पौडेल बताउँछ ।
सचिवालय, केन्द्रीय कमिटी, प्रदेश कमिटी र जनवर्गीय संगठनको नेतृत्व जिम्मेवारी बाँडफाँटलगायतका काम भने सम्पन्न भइसकेको छ । एकता भइसकेको संगठनलाई सक्रिय बनाउने र एकता हुन बाँकी कमिटीको टुंगो लगाउने विषयमै केन्द्रित भई अध्यक्ष दाहालले सक्रियता बढाएका हुन् ।
पार्टीलाई बलियो बनाउन दाहालको दौडधुप बढेको पौडेलले बताए । पछिल्लो समय पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालसँग छलफल गरेका अध्यक्ष दाहालले सचिवालयका अन्य नेतासँग समेत छलफल गरेका छन् ।
सचिवालय सदस्यहरू वामदेव गौतम, नारायणकाजी श्रेष्ठ, ईश्वर पोखरेल, रामबहादुर थापा र महासचिव विष्णु पौडेलका साथै स्थायी कमिटीका सदस्यसँग दाहालले छलफल गर्ने गरी गृहकार्य अघि बढाएको उनको सचिवालयले जनाएको छ ।















प्रतिक्रिया