
काठमाडौं, ३ भदौ । गृह मन्त्रालयका सचिव प्रेमकुमार राई प्रधानमन्त्री केपी शर्मा ओलीको प्रशासनिक लयमा हिँडेका छन् । कार्य सम्पादन र प्रगतिका विषयमा प्रधानमन्त्री ओलीले मन्त्रीमण्डलका सदस्यसँग करारको सम्झौता गरेका थिए ।
गृहसचिव राईले पनि यस्तै सम्झौताको थालनी नेपाल प्रहरीका महानिरिक्षक (आइजी) सर्वेन्द्र खनालमार्फत थालेका छन् । गृह प्रशासन अन्तर्गत, सशस्त्र प्रहरी बलसँग पनि सचिव राईले करारको सम्झौताको तयारी गरेका छन् ।
७७ जिल्ला प्रशासन कार्यालयसँग भने यस्तो सम्झौता भइसकेको थियो । यहि सम्झौताको प्रतिफलका आधारमा नै प्रहरी संगठनसँग करार गरिएको जनाइएको छ ।
गृह मन्त्रालयमा सोमबार आयोजित समारोहमा गखनालसँग कार्यसम्पादन सम्झौता, २०७६ मा हस्ताक्षर सम्पन्न भएको थियो । सम्झौताका क्रममा गृहमन्त्री रामबहादुर थापा बादल पनि उपस्थित थिए ।
सार्वजनिक प्रशासनलाई जिम्मेवारीप्रति प्रतिवद्व, कानुन कार्यान्वयनमा दृढ, प्रक्रियामा सरलीकरण र पारदर्शी एवम् नतिजामा उत्तरदायी बनाउन तोकिएको कार्य समय, पदीय अधिकारको सीमा र सोपानसँग आवद्ध गर्न सम्झौता भएको जनाइएको छ ।
जनता र संगठनप्रति जवाफदेही बनाउँदै सुशासन कायम गर्न, प्रशासनमा नवप्रवर्तन र सिर्जनशीलता अभिवृद्वि गर्न गृह प्रशासन सुधार कार्ययोजना, २०७४ र सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को व्यवस्थासमेतका अधिनमा सम्झौता गरिएको हो ।
एक आर्थिक वर्ष अवधिको रहने उक्त कार्यसम्पादन सम्झौतामा सात वटा कार्य शर्तहरू र २२ वटा कार्यसम्पादन लक्ष्य र सूचकहरू रहेका छन् ।















प्रतिक्रिया