बिहीबार, २ असोज २०७६
DainikNepal.com
बिहीबार, २ असोज २०७६

आत्महत्या गरेका पत्रकार पुडासैनीले डोरी किनेको भिडियो फुटेज भेटियो

दैनिक नेपाल २०७६ भदौ २ गते १३:४९

काठमाडौँ, २ भदौ । माउन्टेल टेलिभिजनमा कार्यरत पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणले यतिबेला चितवन तातिरहेको छ । पुडासैनी गएको साउन २० गते चितवन पोखरा बसपार्कस्थित कङ्गारु होटलको कोठामा झुण्डिएको अवस्थामा भेटिएका थिए ।

उनको साथबाट आत्महत्या गर्नुअघि रेकर्ड गरिएको भिडियो फेला परेको थियो ।  जहाँ उनले न्युज २४ टेलिभिनबाट प्रसारित कार्यक्रम सिधा कुरा जनतासँगका प्रस्तोता रवि लामिछाने र रिपोर्टर युवराज कँडेल र उनीहरुमार्फत चिनजान भएकी नर्स अस्मिता कार्कीले आफूलाई मर्न बाध्य बनाएको उल्लेख गरेका थिए ।

पुडासैनीले लामो समय सिधा कुरा जनतासँग कार्यक्रमका लागि काम गरेका थिए । उनी दुई महिना पहिले न्युज २४ छोडेर माउन्टेन टिभीमा आवद्ध भएका थिए ।

शालिकरामको भिडियोलाई फरेन्सिक ल्याबमा परीक्षण गरेपछि प्रहरीले लामिछाने, कँडेल र कार्कीलाई साउन ३० गते पक्राउ गरेर चितवन लगेको थियो । अहिले उनीहरुलाई अदालतबाट म्याद थपेर अनुसन्धान भइरहेको छ । घटनाको अनुसन्धानको लागि सीआईबीको टोली समेत चितवन पुगेको  छ । प्रहरीका अनुसार फरेन्सिक ल्याबमा भिडियो पुडासैनी आफैले खिचेको तथा आवाज पनि उनकै रहेको पुष्टी भएको थियो ।

तर, रविका समर्थकले भने उनी निर्दाेष भएको, उनलाई फसाउन खोजेको र पु‍डासैनको आत्महत्या नभइ हत्या भएको दाबी गर्दै चितवनमा विरोध प्रदर्शन गरिरहेका छन् । प्रहरीले भने पुडासैनीले आत्महत्या गरेको बल पुग्ने गरि थप प्रमाण फेला पारेको दाबी गरेको छ ।

आत्महत्या गर्नुअघि पुडासैनीले डोरी किनेको पसल भेटिएसँगै यसमा बल पुग्ने प्रमाण जुटेको प्रहरी बताउँछ । उनले नारायणगढ बसपार्कमा रहेको एक होलसेल पसलबाट पाँच मिटरको डोरी किनेको दृश्य पसलमा रहेको सीसीटीभी फुजेटमा देखिएको प्रहरीले जनाएको छ ।

चितवन प्रहरीले पसलको सीसीटीभीको ‘हार्डडिस्क’ नै लिएर थप अनुसन्धान गरिरहेको छ । प्रहरीले आइतबार साँझ हार्डडिस्क लगेर थप अनुसन्धान थालेको हो ।

होटल कंगारुमा दिउँसो ३.३० बजे पुगेका पुडासैनीले कोठा बुक गरेपछि बाहिर निस्किएर डोरी किनेका थिए । प्रहरीका अनुसार बसपार्क नजिकै सडकको जेब्राक्रस कटेर एक्लै आएका पुडासैनीले डोरी मागेको पसलको सीसीटीभी फुटेजमा देखिएको छ ।

लुगा सुकाउन भन्दै पुडासैनीले ५ मिटरको डोरी मागेको भिडियोमा देखिएको चितवन प्रहरी स्रोतले जनाएको छ । होलसेलबाट खुद्रा सामान नबेच्ने भनेपछि पुडासैनी निकैबेर पसलमा रोकिएको भिडियोमा देखिन्छ । धेरैबेर बसेपछि होलसेल पसलकी महिलाले डोरी दिन कामदारलाई भनेकी थिइन् ।

प्रहरी स्रोतका अनुसार पसलमा काम गर्ने कामदारले पाँच मिटरको डोरी नापेर दिएको दृश्य भिडियोमा छ । पुडासैनीले पैसा तिरेर प्लाष्टिकको झोलामा राखेर डोरी लगेको देखिन्छ ।

होटलमा पुगेपछि साँझ भेज खान बनाउन अर्डर गरेका पुडासैनी एक बोतल पानी लिएर कोठामा उक्लिएको होटल सञ्चालकले बताएका छन् । राति ८ बजे खाना खान बोलाउन जाँदा पुडासैनी नआएपछि होटल सञ्चालकले प्रहरीलाई खबर गरेका थिए ।

प्रहरीले ढोका फुटाएर हेर्दा पत्रकार पुडासैनी डोरीको पासोमा झुण्डिएको अवस्थामा भेटिएका थिए ।

प्रतिक्रिया
सम्बन्धित