सोमबार, ३० भदौ २०७६
DainikNepal.com
सोमबार, ३० भदौ २०७६

रविका समर्थकले ‘उग्र’ प्रदर्शन गरेपछि चितवनमा शान्ति र्‍याली निकालियो

दैनिक नेपाल २०७६ भदौ २ गते १३:०५

भरतपुर, २ भदौ । शालिकराम पुडासैनी काण्डमा पक्राउ परेका कार्यक्रम प्रस्तोता रवि लामिछानेका समर्थकले दिनदिनै प्रदर्शन गर्न थालेपछि चितवनका होटेल व्यवसायीहरूले ‘चितवन सुरक्षित छ’ भन्दै शान्ति र्‍याली निकालेका छन् ।

होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ चितवनले सोमबार बिहान चितवनमा भइरहेको पछिल्लो घटनाक्रमले देशभर नकारात्मक सन्देश गएको भन्दै र्‍याली निकालेको होटल तथा रेष्टुरेन्ट व्यवसायी संघका अध्यक्ष दीपक ढकालले जानकारी दिए ।

साउन २० गते नारायणगढको पोखरा बसपार्कमा रहेको कंगारु होटलमा पत्रकार शालिकराम पुडासैनीले ज्यान दिएपछि विषयले अर्कै रुप लिएको छ ।

सामाजिक सञ्जालमा चितवन सुरक्षित छैन भन्ने अफवाह फैलिएकाले त्यसलाई चिर्न सोमबार शान्ति र्‍याली निकालिएको ढकालले बताए ।

‘पछिल्लो घटनापछि सामाजिक सञ्जालमार्फत चितवन सुरक्षित छैन भनेर जुन अफवाह फैलिएको छ त्यसैलाई चिर्न हामीले शान्ति र्‍याली निकालेका हौँ’, अध्यक्ष ढकालले बताएका छन् ।

उनले चितवन सुरक्षित रहेको र होटल तथा रेष्टुरेन्ट व्यवसायीहरू पर्यटकलाई स्वागत गर्न सधैं तयार रहेको बताए ।

उनले चितवनका होटल तथा रेष्टुरेन्ट व्यवसायीहरू आफ्नो पाहुनालाई सुरक्षित रुपमा राख्न प्रतिवद्ध रहेको पनि बताएका छन् ।

सामाजिक सञ्जालमा भनिएको जस्तो चितवन असुरक्षित भन्ने केबल हल्ला मात्र भएको भन्दै त्यस्ता हल्लाको पछि नलाग्न पनि उनले आग्रह गरेका छन् ।

संघका अध्यक्ष ढकालले प्रशासनलाई पनि शान्ति सुरक्षामा ध्यान दिन आग्रह गरेका छन् । पुडासैनीले ज्यान दिएको प्रकारणमा स्थानीयले निष्पक्ष छानबिनको माग गरेका छन् ।

घटनाको दोषी छिट्टै पत्ता लगाई कडाभन्दा कडा कारबाही गर्न सम्पूर्ण होटल तथा रेष्टुरेन्ट व्यवसायीहरूको माग रहेको ढकालले बताए ।

पोखरा बसपार्क नारायणगढबाट निस्किएको शान्ति र्‍याली पुलचोक, चौविसकोठी हुँदै केन्द्रीय बस टर्मिनल भरतपुर पुगी फेरि चौविसकोठी पुगेर समापन भएको ढकालले जानकारी दिए ।

पक्राउ परेका लामिछाने, युवराज कँडेल र अस्मिता कार्कीलाई प्रहरीले न्यायिक हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ । पहिलोपटक अदालतबाट थपिएको ५ दिनको म्याद भाेलि मङ्गलबार सकिदैछ । घटनाको अनुसन्धान गर्न केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोली पनि चितवन पुगेको छ ।

चितवनमा रविका समर्थकले उनी निर्दोष छन् भन्दै उग्र प्रदर्शन गरेपछि प्रशासनले कडाइ गरेको छ । आइतबार सर्वपक्षीय बैठक बसेर यस्ता प्रदर्शनलाई निरुत्साहित गर्ने निर्णय भएको थियो । आज चितवनमा रवि लामिछानेका समर्थकलाई लक्षित गरी निषेधाज्ञा जारी समेत गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित