बिहीबार, २ असोज २०७६
DainikNepal.com
बिहीबार, २ असोज २०७६

पूर्वरानी कोमल शाहका भाईद्वारा महासंघ कब्जा !

आजीवन सदस्य राणालाई विधानले तत्कालै अध्यक्ष बन्न दिँदैन

दैनिक नेपाल २०७६ भदौ १ गते १४:०१

काठमाडौं, १ भदौ । गत बर्ष अध्यक्ष भरतकेशर सिंहको निधन भएपछि उपाध्यक्षको नेतृत्वमा चल्दै आएको विश्व हिन्दू महासंघ नेपालको नेतृत्व पूर्वरानी कोमल राज्यलक्ष्मी शाहका भाई निक्षे शमशेर राणाले कब्जाको तयारी गरेका छन् ।

महासंघका आजीवन सदस्यता लिएर सहकार्य गर्ने प्रस्ताव गरेका बेलायतबासी राणाले सिंहको निधनपछि नेतृत्व दिनका लागि महासंघका पदाधिकारीसँग बारम्बार प्रस्ताव गर्दै आएका थिए ।

विधान र नियमले अध्यक्ष पदमा स्वीकार गर्न नसकिने भएपछि महासंघका पदाधिकारीले खासै वास्ता गरेका थिएनन् । त्यसैकारण उनले आइतबार कार्यालयमा गएरै कब्जा गर्ने तयारी गरेको स्रोतले जनायो ।

तर केही पदाधिकारीले भने विधानविपरितको काम हुन नसक्ने भन्दै कब्जाको विषय नकारेका छन् तर राणा कुनै माग लिएर ज्ञापन दिन पुग्ने विषयलाई भने पुष्टि गरेका छन् ।

दिवंगत राजा वीरेन्द्र शाहले हिन्दू धर्मको रक्षासँगै विश्व शान्तिका लागि महासंघ स्थापना गरेका थिए । राणा धेरै पछि त्यसमा सदस्य भए । अध्यक्ष पदका लागि लालयित बनेका राणा तत्कालिन राजा ज्ञानेन्द्र शाहको सक्रिय शासनकालमा स्वास्थ्य सहायक मन्त्री भएका थिए ।

मुलुकमा जनआन्दोलनपछि लोकतन्त्र स्थापना भएपछि उनी बेलायततिर भासिएका थिए । ‘नेपालमा परिवर्तनको शिलशीला र हिन्दूत्वको आवाज बलियो भएपछि उनी झुल्किएका हुन्’, स्रोतले भन्यो ।

कार्यावाहक अध्यक्ष प्रमोद चौडरिया पनि बिरामी भएर दिल्लीमा छन् । उपाध्यक्ष अर्जुनप्रसाद बास्तोलाले नेपालका राजाका गुरु हुँ भन्दै भारतमा प्रचारवाजीमा रहेका कारण कारबाहीमा परेका थिए । अहिले चक्रबन्धु अर्याल उपाध्यक्ष छन् ।

महासंकी महासचिव अस्मिता भण्डारीले बजारमा आएको यस्तो विषय सुने पनि राणा कानुन, विधान र नियमविपरित नजानेमा विश्वस्त रहेको बताइन् । ‘मैले पनि हल्ला सुनें तर उहाँ विधान मिचेर अघि बढ्ने मानिस होइन’, उनले भनिन् ।

महासंघले हिन्दूत्वका निम्ति विविध कार्यक्रम गर्दै आएको छ । जसमा नेपाल र भारतका हिन्दूत्वका विषयमा आवाज उठाउने कतिपयको सक्रियता रहँदै आएको छ । केही बर्ष अघि पशुपति क्षेत्रमा गरिएको बिराट हिन्दू सम्मेलनमा पूर्वराजा ज्ञानेन्द्र शाहले भाषण गरेका थिए भने हाल भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदीत्यनाथले पनि हिन्दूत्वको रक्षा गर्न आह्वान गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित